मृत्यु पखाईमा रहेका विक्रमको छोरीका लागि छानो बनाइदिन अपिल
प्रशासक | २०८२ कार्तिक १८ गते १२:०२ मा प्रकाशित
अक्षर साथी
लम्की, कार्तिक १७
कैलालीको लम्कीचुहा नगरपालिका–४, भल्का बजारबाट करिब २ किलोमिटर उत्तरतर्फ जाँदा साँघुरो बाटोमा पुगिन्छ, जहाँ छेउमा माटोको भित्ता ठड्याएको, काठको छानोमा टिनले छाएको एउटा झुप्रो घर उभिएको छ । यही घरको बाहिर कुर्सीमा बस्दै बाटोमा आउनेजाने बटुवालाई नियाल्दै बस्ने गर्छन् ३३ वर्षीय विक्रम कामी । ८ वर्ष पहिला दाहिने खुट्टा गुमाएर अपाङ्ग बनेका विक्रम अहिले दुवै मृगौला फेल भएपछि मृत्युको पखाईमा रहेका उनको आँखामा एउटा गहिरो पीडा छ । त्यो पीडा हो छोरीहरूको भविष्यको । उनको अन्तिम इच्छा छ, छोरीहरूका शिर लुकाउने आफ्नै एउटा छानो, एउटा आफ्नै घर ।
पीडाको यात्रा मधुमेहबाट सुरु भएको हो । कैलालीको लम्कीचुहा–६, बामनपुरका विक्रमलाई मधुमेहका जटिलताका कारण दाहिने खुट्टामा गम्भीर संक्रमण भयो, जसले गर्दा खुट्टा काट्ने शल्यक्रिया गर्नुप¥यो । यो घटनापछि उनी अपाङ्ग बने, र परिवारको दैनिकी निकै कष्टकर बन्यो । घरमा उनी, श्रीमती, ११ वर्षकी जेठी छोरी अनि ४ वर्षकी कान्छी छोरी मात्र छन् । परिवारको एकमात्र कमाउने व्यक्ति विक्रम नै थिए, जसले मजदुरी गरेर घर चलाउँथे । तर खुट्टा गुमाएपछि उनीहरूको जीवन झन् कठिन भयो– खानपिनदेखि छोरीहरूको पढाइसम्म सबैमा अभाव भोग्नु पर्यो परिवारलाई ।
तर यो पीडा यतिमै सीमित रहेन । यसै वर्षको साउनमा विक्रमको परिवारलाई अर्को ठूलो बज्रपात प¥यो, दुवै मृगौला फेल भए । चिकित्सकहरूका अनुसार, लामो समयदेखिको मधुमेहले मृगौलामा असर पारेको थियो, जसले गर्दा मृगौलाले काम गर्न छोडे। अब उनीलाई जीवित राख्न हप्तामा दुई–तीन पटक डायलेसिस गर्नुपर्छ, जसमा रगतलाई फिल्टर गरेर विषाक्त पदार्थ हटाइन्छ। सुरुमा हातका नसाबाट डायलेसिस गरियो, तर अब घाँटीका दुवैतर्फका नसाबाट पनि गरिसकियो छ । अब चिकित्सकीय दृष्टिबाट हेर्दा, यो अवस्थामा अर्को भास्कुलर एक्सेसको विकल्प कम छ, र मृगौला प्रत्यारोपण बिना उनीको जीवन छोटो हुन सक्छ । मृगौला प्रत्यारोपण गर्न उनको घरको आर्थिक अवस्थाले साथ दिदैन् ।
यता डायलेसिसको खर्चले विक्रमको परिवारलाई पूरै डुबाएको छ । उनीसँग भएको चल–अचल सम्पत्ति सबै सकियो, जमिन बेचियो, ऋण लिइयो । ‘अब त मृत्युको पखाईमा छु,’ विक्रम आँखा रसिलो बनाउँदै भन्छन्, ‘मेरी छोरीको भविष्य के होला ? वर्षाको झरीमा शिर लुकाउने एउटा झानो बनाउन पाए हुन्थ्यो । बाच्न त म होइन तर, छोरीका लागि छानो बनाउन पाएको भए अन्तिम सास ढुक्कले लिने थिए ।
पीडित विक्रमलाई खाद्यान्न सहयोग
यस्तै पीडित विक्रमलाई खाद्यान्न सहयोग पा्रप्त भएकोा छ । प्रगतीशिल एक मञ्च लम्कीचुहा–६, ले देउसी भैलो कार्यक्रममार्फत संकलन गरेको रकमबाट पीडित विक्रम कामीलाई खाद्यान्न उपलब्ध गराएको हो । चामल, दाल, नुन, तेल साबुन लगायतका दैनिक उपभोग्य सामाग्री आइतवार हस्तान्तरण गरिएको ढक बहादुर बि.क.ले जानकारी दिए ।
















