किसान सहकारी ३१ वर्षमा : शुन्यबाट शिखरसम्म
प्रशासक | २०८२ कार्तिक १९ गते ०७:४४ मा प्रकाशित
अक्षर साथी
लम्की, कार्तिक १८
कैलालीको लम्कीमा रहेको देशकै नमुना सहकारी किसान बहुउद्देश्यीय सहकारी संस्था लि. ३१ औ वर्षमा प्रवेश गरेको छ, यो सँगै ०५२ सालमा स्थापना भएको किसान सहकारीले आफ्नो ३० औँ वार्षिक उत्सव पनि मनाएको छ । सोमवार प्रधान कार्यालयमा लम्कीमा संस्थाका पूर्व सञ्चालक, सञ्चालक र कर्मचारीहरू सहभागितामा किसानले आफ्नो ३० औँ वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमका वक्ताहरूले सहकारी स्थापना गर्दा सामना गर्नुपरेका चुनौतीहरूको स्मरण गर्दै ३० वर्षे यात्राको अनुभव बाँडे । ०५२ सालपछि सुरु भएको १० वर्षे द्वन्द्व, कोभिड महामारी, र सहकारी क्षेत्रमा देखा परेका विभिन्न समस्याबीच पनि सुशासन र सदस्यहरूको विश्वासका कारण किसान सहकारीले निरन्तर प्रगति गर्न सफल भएको उनीहरूको भनाइ थियो ।
त्यस्तै वार्षिक उत्सवको अवसरमा किसानले आफ्ना विभिन्न विधामा उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरेको थियो भने कार्यालयमा रक्तादान कार्यक्रमको आयोजना समेत गरेको थियो ।
२०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको प्रवेशद्वार लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट ६० हजार तीन सय शेयर पुँजी संकलन गरी संस्थाको स्थापना भएको थियो ।
स्थापनाको ३० वर्ष पुरा गर्दा संस्थामा ९१ हजार ७ सय २३ सदस्य जोडिएका छन् । संस्थाको सेयर पुँजी ५१ करोड ३५ लाख, जगेडा कोष ३५ करोड ७२ लाख, बचत ४ अर्ब ८१ करोड ६६ लाख, लगानी ५ अर्ब र कुल सम्पत्ति ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
२०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सिमित कारोबार गर्न स्वीकृती समेत प्राप्त गरेको थियो । सदस्यलाई आवश्यक सम्पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले कृषि प्रवद्र्धनका उद्देश्यले निःशुल्क तालीम र घरदैलो परामर्श सेवा सञ्चालन गर्दै आएको छ । यसका साथै स्थानीय उपभोक्तालाई सुलभ दरमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन र सदस्यका उत्पादनको बजारीकरण गर्न ‘किसान कोप–मार्ट’ समेत संस्थाले सञ्चालन गरेको छ । विभिन्न विपद् र महामारीका समयमा समेत संस्थाले समुदाय तथा सदस्यको साथमा रहेर राहत कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
संस्थाको बर्दियामा १, बैतडीमा १, कैलालीमा २३, कञ्चनपुरमा ७, अछाममा ३, डडेल्धुरामा २ र डोटीमा ३ वटा वित्तीय युनिटहरुबाट सदस्यलाई सेवा प्रवाह गर्दै आएको छ । संस्थाले लम्की, बौनिया र सुखडमा किसान कोप मार्ट सञ्चालन गर्दै आएको छ भने किसान कोप एग्रो अन्तर्गत माटो परीक्षण प्रयोगशाला, मल बिउ विजन केन्द्र, एकीकृत कृषि फर्म र कोड स्टोर समेत संस्थालन गर्दै आएको छ ।
महाप्रबन्धक डम्बर बहादुर शाहले शुभकामना तथा प्रतिवद्धता व्यक्त गर्दै सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरेका छन् । शाहले आगामी दिनमा पनि सदस्यको हित, सहकारीको सुदृढीकरण र समुदायको आर्थिक विकासका लागि निरन्तर प्रयत्नशील रहने प्रतिबद्धता जनाएका छन् ।
संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले समुदायमा वित्तीय सेवाबाट बिमुख र कृषिमा आश्रित भई जीविका चलाउन उत्सुक सदस्यहरुलाई वित्तीय तथा गैर–वित्तीय सेवामार्फत सबल बनाउनु नै संस्थाको मुख्य उद्देश्य भएको बताएका छन् ।
















