नगर प्रमुख सुशीला शाही छानिएकी ‘सि लिड्स आइकन’ के हो ? कसरी छानिन्छन् जनप्रतिनिधि ?
प्रशासक | २०८२ मंसिर २४ गते १२:२३ मा प्रकाशित
अक्षर साथी
लम्की, मंसिर २३
नेपाली महिला जनप्रतिनिधिहरूको संघर्ष, उपलब्धि र योगदानलाई दस्तावेजीकरण गरी वृत्तचित्र, बहस र प्रविधिमूलक माध्यममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रसारण गर्ने, महिला हक–अधिकारको संरक्षण, सशक्तिकरण र नेतृत्व क्षमताको विस्तार गर्दै समाजमा प्रतिस्पर्धात्मक र समन्वयकारी भावनाको विकास गर्ने उद्देश्यले सञ्चालन हुने कार्यक्रम ‘सि लिड्स आइकन’ हाल देशभर परिचित बन्दै गएको छ । महिला जनप्रतिनिधिको योगदानलाई पहिचान, सम्मान र प्रेरणाको माध्यम बनाउने लक्ष्यसहित यो कार्यक्रम प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । आयोजक सँस्था कल्प इम्पावर वुमेन नेपाल महिला हक–अधिकारको संरक्षण तथा सशक्तिकरणका क्षेत्रमा काम गर्ने एक गैर–सरकारी संस्था हो, जसले महिला नेतृत्व विकासका विभिन्न कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ ।
यस वर्षको सि लिड्स आइकनमा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीसहित ७ जना महिला जनप्रतिनिधि छनोट भएका छन् । लम्कीचुहा नगर प्रमुख सुशीला शाहीसहित बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवाल, इलाम नगरपालिकाकी उप–प्रमुख विष्णु कुमारी लिम्बु, षडानन्द नगरपालिकाकी उप–प्रमुख प्रमिला राई, ठाकुरबाबा नगरपालिकाकी उप–प्रमुख विना कुमारी भट्टराई, साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङ र कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका कुमारी सिंह रहेका छन् ।
सि लिड्स आइकन आयोजन गर्ने संस्था ‘कल्प इम्पावर वुमेन नेपाल’ले संकलन गरेका १३१ महिला आवेदनमध्ये तीन जनाको निर्णायक समितिले ३१ जनालाई पहिलो चरणमा छनोट गरेको थियो । निर्णायक समितिमा पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ चारु चड्डा र लैङ्गिकता तथा समानता विशेषज्ञ सरु जोशी छन् ।
कार्यक्रम विकास संयोजक सम्राट थापाका अनुसार छनोट भएकी लम्कीचुहा नगर प्रमुख सुशीला शाही डिजिटल मतदानबाट चयन भएकी हुन् भने बाँकी छ जनालाई निर्णायक समितिले छानेको हो । लम्कीचुहा नगर प्रमुख सुशीला शाही जनमत (अनलाइन भोटिङ) मा सबैभन्दा बढी आएको आधारमा चयन भइन्, जबकि बाँकी ६ जनालाई निर्णायक समितिको मूल्यांकनबाट छानिएको हो । उनीहरूले आफ्नो पालिकामा गरेका कामकाजबारे स्थानीय प्रतिक्रियाका आधारमा ३० प्रतिशत, जनमत (डिजिटल मतदान) मा २० प्रतिशत र निर्णायकको सिफारिसमा ५० प्रतिशत अंकका आधारमा चयन भएका हुन् ।
सि लिड्स आइकन के हो ?
सि लिड्स आइकन नेपालका स्थानीय तहका महिला प्रमुख÷उप–प्रमुख तथा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षको नेतृत्व क्षमता र सामाजिक प्रभावलाई मूल्यांकन गरी उत्कृष्ट काम गर्ने महिलालाई सार्वजनिक रूपमा सम्मान गर्ने एक राष्ट्रिय स्तरको अभियान हो ।
यस कार्यक्रममार्फत महिलाले आफ्नो क्षेत्रमा गरेको विकासमूलक कार्य, नीति निर्माणमा पु¥याएको प्रभाव, समुदायमा पु¥याएको सकारात्मक परिवर्तन र नागरिक सेवा सुधारमा जनप्रतिनिधिको योगदानलाई विशेष रूपमा हेरिन्छ ।
जनप्रतिनिधि कसरी छनोट गरिन्छ ?
सि लिड्स आइकनमा महिला जनप्रतिनिधि छनोट हुने प्रक्रिया चरणबद्ध रूपमा सञ्चालन हुन्छ ।
– आवेदन प्रक्रिया
स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले स्व–आवेदन, आत्म–सिफारिस वा अन्य संस्थाबाट मनोनयन मार्फत आवेदन दिन सक्छन् ।
– प्रारम्भिक छनोट
आवेदकमध्ये उनीहरूले गरेको काम, समुदायमा प्रभाव र नेतृत्व क्षमताको मूल्यांकन गरी विशेषज्ञहरूको टिमले पहिलो चरणमा सर्टलिस्ट बनाउँछ ।
– गहिरो अध्ययन र तथ्य संकलन
सर्टलिस्ट भएकाहरूको क्षेत्रमा पुगेर उनीहरूको कार्यक्रम, कामको प्रभाव, नागरिक प्रतिक्रिया र सेवा–प्रवाहबारे स्थल–प्रतिवेदन (फिल्ड रिपोर्ट) तयार गरिन्छ ।
– अन्तर्वार्ता र निर्णायक समितिको मूल्यांकन
डिजिटल मतदान, निर्णायक मण्डलसँग अन्तर्वार्ता, प्रस्तुत कामका आधारमा हुने स्कोरिङ र प्रतिवेदनमार्फत अन्तिम प्रतिस्पर्धी छनोट गरिन्छ ।
– अन्तिम परिणाम र सम्मान समारोह
सबै चरण पार गरेका उत्कृष्ट ७ महिला जनप्रतिनिधिलाई सि लिड्स आइकन अवार्ड प्रदान गरिन्छ । सार्वजनिक समारोहमार्फत सम्मान, प्रचार–प्रसार तथा प्रेरणादायी कथाहरू सार्वजनिक गरिन्छ ।

















