खेलकुद
लम्कीचुहाको ‘नगर प्रमुख खेलकुद प्रतियोगिता’ मंसिर २८ बाट सुरु हुने
प्रशासक | २०८२ मंसिर २२ गते ०९:५० मा प्रकाशित
अक्षर साथी
लम्की, मंसिर २१
कैलालीको लम्कीचुहा नगरपालिकामा पहिलोपटक गरिने रूपमा सामुदायिक तथा संस्थागत विद्यालयहरूबीचको बृहत् प्रतिस्पर्धा ‘नगर प्रमुख खेलकुद प्रतियोगिता–२०८२’ आगामी मंसिर २८ गतेबाट सुरु हुने भएको छ । नगरभरिका कक्षा १ देखि १२ सम्ममा अध्ययनरत विद्यार्थी सहभागी हुने यस प्रतियोगिताले विद्यार्थीको क्षमता र खेलप्रति लगावलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ ।
लम्कीचुहा नगर खेल समितिका सदस्य गजेन्द्र बहादुर शाहीका अनुसार प्रतियोगिता राष्ट्रिय नमुना माध्यामिक विद्यालय, मोतिपुरमा सञ्चालन हुनेछ ।
‘कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागितामा मंसिर २८ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ । तयारी लगभग पूरा भएको छ,’ शाहीले बताए ।
उनका अनुसार भलिबल, कराते र एथलेटिक्स तीन विधामा हुने प्रतियोगिता करिब एक सातासम्म सञ्चालन हुनेछ । उनले भने, ‘विद्यार्थीमा लुकेका खेल प्रतिभा पहिचान गर्न, उनीहरूलाई खेल क्षेत्रमा अघि बढाउन यो प्रतियोगिता महत्वपूर्ण हुने छ ।’
यसैबीच, लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले खेलकुद विकास नगरपालिकाको प्राथमिकतामा रहेको बताइन् ।
उनले भनिन्, ‘विद्यार्थीहरू केवल पाठ्यक्रममै सीमित हुनुहुन्न, खेलकुदले उनीहरूको शारीरिक क्षमता, नेतृत्व, अनुशासन र आत्मविश्वासलाई बढाउने महत्वपूर्ण भूमिका खेल्छ । नगर प्रमुख खेलकुद प्रतियोगिता अहिलेको मात्र होइन, आगामी वर्षहरूमा पनि निरन्तर हुने छ ।’
प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न लम्कीचुहा नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले यो प्रतियोगितालाई वार्षिक खेलकुद गतिविधिका रूपमा स्थायी रूपमा अघि बढाउने तयारी समेत गरिरहेको खेल समितिले जनाएको छ ।
विद्यालय विद्यालयबीचको भाईचारा, सौहार्द र नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।