समाचार
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
प्रशासक | २०८२ पौस ३ गते १२:२१ मा प्रकाशित
कैलाली डेस्क
लम्की, पुस ३
सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारका अनुसार शुक्रवार परेका भुवा पर्वका दिन प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिइनेछ। यस सम्बन्धी निर्णय प्रदेश सरकारको राजपत्रमा प्रकाशित गरिएको छ ।
भुवा पर्व पहाडी जिल्लासँगै तराई क्षेत्रमा पनि परम्परागत रूपमा मनाइँदै आएको छ। विशेषगरी बाजुरा र बझाङबाट बसाइँ सरेर कैलाली र कञ्चनपुर आएका समुदायले यो पर्व विशेष महत्वका साथ मनाउने गर्छन् ।
पुस महिनाको औँसीदेखि भुवा पर्व सुरु हुने परम्परा रहेको छ । पिठोको टीका लगाएर खेल सुरु गरिने भएकाले भुवाको सुरुवातलाई ‘पिठाया’ भनिन्छ । यस क्रममा गाउँ–गाउँमा पुगेर पिठाया लगाउँदै भुवा नाच प्रस्तुत गर्ने चलन छ ।
धार्मिक तथा ऐतिहासिक मान्यताअनुसार द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजय हासिल गरेपछि तरबार र ढाल नचाउँदै निकालिएको विजयी जुलुसको सम्झनामा भुवा खेल सुरु भएको विश्वास गरिन्छ ।