समाचार
प्रगतिशील एकता समाजद्वारा लम्कीचुहा–६ मा बृहत सरसफाई
प्रशासक | २०८२ पौस ५ गते १४:१८ मा प्रकाशित
अक्षर साथी
लम्की, पुस ५
कैलालीको लम्कीचुहा नगरपालिका–६ मा प्रगतिशील एकता समाजको आयोजनामा बृहत सरसफाई सम्पन्न भएको छ । समुदायलाई स्वच्छ, स्वस्थ र व्यवस्थित बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त अभियानमा स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
सरसफाई अभियानमा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य रामेश्वर चौधरी, सामाजिक अगुवा ढक बहादुर बि.क., पदम खड्का, कला रावतलगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रममा टोलका सडक, सार्वजनिक स्थान, नाला तथा आसपासका क्षेत्रको सरसफाई गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य रामेश्वर चौधरीले सरसफाई अभियान केवल एकदिने औपचारिकता नभई निरन्तर चलिरहनुपर्ने अभियान भएको बताए। ‘स्वच्छ वातावरण बिना स्वस्थ समाज निर्माण सम्भव छैन,’ उनले भने, ‘सरकारले मात्र होइन, समुदाय स्वयंले जिम्मेवारी लिएर सरसफाईलाई जीवनशैलीकै रूपमा अपनाउनुपर्छ ।’
त्यसैगरी सामाजिक अगुवा ढक बहादुर बि.क.ले सरसफाईलाई सामाजिक एकताको प्रतीकका रूपमा लिनुपर्नेमा जोड दिए । ‘हामी सबैको साझा घरजस्तै समाजलाई सफा राख्नु हाम्रो कर्तव्य हो,’ उनले भने, ‘प्रगतिशील एकता समाजले सुरु गरेको यो अभियानले समुदायलाई एकताबद्ध गर्दै सकारात्मक सन्देश दिएको छ ।’ उनले आगामी दिनमा पनि निरन्तर सरसफाई, वातावरण संरक्षण र सामाजिक सचेतनामूलक गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
प्रगतिशील एकता समाजका प्रतिनिधिहरूले स्थानीयको सक्रिय सहभागिताले अभियान सफल भएको जनाउँदै आगामी दिनमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए । स्थानीयवासीहरूले सरसफाई अभियानले टोलको वातावरण मात्र सफा नभई आपसी सहकार्य र जिम्मेवारीको भावना बलियो बनाएको प्रतिक्रिया दिएका छन् ।
समाजले स्वच्छ वातावरण, स्वस्थ नागरिक र सभ्य समाज निर्माणका लागि सबैलाई निरन्तर साथ र सहभागिताको आह्वान गर्दै कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।