लम्कीचुहामा किसान लक्षित पाँच कृषि कार्यक्रम, अनुदानका लागि आवेदन माग
प्रशासक | २०८२ पौस १८ गते ०७:४० मा प्रकाशित
अक्षर साथी
लम्की, पुस १८
कैलालीको लम्कीचुहा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको विकास र व्यवसायिक खेती प्रवद्र्धनका लागि किसान लक्षित विभिन्न पाँच वटा कार्यक्रम ल्याएको छ । नगरपालिकाको कृषि विकास शाखाले बिहीवार एक सूचना प्रकाशन गर्दैस्वीकृत कार्यक्रमअनुसार किसान, कृषक समूह, सहकारी तथा कृषि फर्मलाई लक्षित गर्दै अनुदान तथा सहयोग कार्यक्रमका बारेमा जानकारी दिएको छ ।
ADVERTISEMNT
.............................................................................................................................................................................
नगर प्रमुख सुशीला शाहीले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित कार्यक्रम ल्याइएको बताइन् ।
‘लम्कीचुहा नगरपालिकाको प्राथमिकता कृषिलाई व्यवसायसँग जोड्नु हो । किसानको उत्पादन बढाउने, आम्दानी सुनिश्चित गर्ने र स्थानीय रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यी कार्यक्रम सञ्चालन गरिएको हो । वास्तविक कृषकसम्म अनुदान पुग्ने गरी पारदर्शी रूपमा कार्यान्वयन गर्ने छौँ ।’, नगर प्रमुख शाहीले भनिन् ।
...........................................................................................................................................................................................................................................................
नगरपालिकाले जारी गरेको सूचना अनुसार मागमा आधारित विभिन्न लक्षित वर्गलाई मेयर कृषि कार्यक्रम अन्तर्गत ३० दिनको अवधिमा आवेदन माग गरिएको छ । यस कार्यक्रममा सहभागी हुन इच्छुक कृषकले कार्यक्रम माग सम्बन्धी निवेदन, वडा कार्यालयको सिफारिस, कार्ययोजना, जग्गाको लालपुर्जाको प्रतिलिपि, भाडामा खेती गरेको भए सम्झौता पत्र र समूह÷सहकारीको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
यस्तै, बसन्ते मकै खेती कार्यक्रम (क्षेत्रफलमा आधारित प्रोत्साहन अनुदान) अन्तर्गत १५ दिनभित्र आवेदन दिन सकिनेछ । यसमा उत्पादनमा आधारित प्रतिकठ्ठा न्यूनतम नगद ५ सय रुपैयाँ अनुदान उपलब्ध गराइने कृषि विकास शाखाका प्राविधिक साहयक सुरेश ढुङ्गानाले जानकारी दिए ।
त्यस्तै प्राविधिक साहयक ढुङ्गानाले चैते धान खेती कार्यक्रम (बीउ, पोषण, मलखाद आदिमा अनुदान),
बगर खेती सहयोग तथा अनुदान कार्यक्रम, र गड्यौला मल उत्पादन तथा प्रदर्शन कार्यक्रमको अनुदानका लागि किसानहरूले आवेदन दिन सक्ने बताए ।
नगरपालिकाका अनुसार व्यवसायिक रूपमा खेती गर्दै आएका कृषक समूह, कृषि सहकारी तथा कृषि फर्मलाई प्राथमिकतामा राखिनेछ । सबै कार्यक्रम लम्कीचुहा नगरपालिकाको कृषि विकास शाखाबाट स्वीकृत कार्यान्वयन मापदण्डअनुसार सञ्चालन हुने जनाइएको छ ।
सूचनामा तोकिएको अन्तिम मितिभित्र आवेदन बुझाउन नसकेमा सार्वजनिक विदा परेमा त्यसको भोलिपल्टसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । थप जानकारीका लागि नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ भने पनि 9868415393 9848554099 मा सम्पर्क गर्न सकिने छ ।

















