बिरामी ठिक बनाउने लम्कीचुहा अस्पताल आफैँ ‘बिरामी’
प्रशासक | २०८२ चैत्र ५ गते ०९:५१ मा प्रकाशित
अक्षर साथी
लम्की, चैत ५
ADVERTISE........................................................................................................................................................

लम्कीचुहा नगरपालिकामा अवस्थित लम्कीचुहा अस्पताल स्थापना भएको छ वर्ष नबित्दै व्यवस्थापन, स्रोतसाधन र राजनीतिक खिचातानीका कारण आफैँ ‘बिरामी’ जस्तो अवस्थामा पुगेको छ । स्थानीय बासिन्दालाई आधारभूतदेखि आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको यो अस्पताल पछिल्लो समय सेवा प्रवाहमा कमजोर बन्दै जाँदा सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् ।
तत्कालीन नगर प्रमुख महादेव बजगाईको कार्यकालमा स्तरोन्नति गरिएको बलिया स्वास्थ्य चौकीबाट सुरु भएको यो अस्पताल अहिले लम्कीचुहा र आसपासका पालिकाका नागरिकका लागि मुख्य उपचार केन्द्रका रूपमा स्थापित भए पनि प्रभावकारी सञ्चालन हुन नसक्दा जनविश्वास डगमगाउन थालेको छ ।
अस्पतालको वर्तमान अवस्थालाई लिएर स्थानीयले राजनीतिक खिचातानीलाई मुख्य कारण मानेका छन् । विशेषगरी मुख्यमन्त्री कमल बहादुर शाह र नगर प्रमुख सुशीला शाहीबीच देखिएको असमझदारीले अस्पतालको व्यवस्थापन झनै कमजोर बनेको गुनासो बढ्दै गएको छ ।
चालु आर्थिक वर्षमा अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त बजेटमध्ये तीन करोड रुपैयाँ सञ्चालन तथा व्यवस्थापनका लागि, एक करोड रुपैयाँ औजार उपकरण खरिदका लागि र एक करोड ५० लाख रुपैयाँ स्तरोन्नतिका लागि छुट्याइएको थियो । तर आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदासमेत बजेट कार्यान्वयन हुन सकेको छैन ।
अस्पताल स्रोतका अनुसार आवश्यक बजेट निकासा, जनशक्ति व्यवस्थापन तथा उपकरण खरिदजस्ता महत्वपूर्ण काम लामो समयदेखि अलपत्र छन् । यसको प्रत्यक्ष असर सामान्य उपचारदेखि आकस्मिक सेवासम्म परेको छ ।
प्रादेशिक अस्पताल बनाउने विषयमा विवाद
लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने विषयमा प्रदेश सरकार र नगरपालिकाबीच विवाद चर्किँदै गएको छ ।
लम्कीचुहा नगरपालिकाले २०८१ पुस ४ गते प्रदेश सरकारलाई अस्पताल स्तरोन्नतिका लागि अनुरोध गरेको थियो। त्यसपछि प्रदेश सरकारले २०८१ फागुन २१ मा संघीय सरकारसँग अनुमति मागेको थियो । संघीय मन्त्रिपरिषद्ले २०८२ जेठ २६ मा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेश मातहत सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तर उक्त निर्णय कार्यान्वयनको चरणमा पुगेपछि समन्वय अभाव देखिएको छ । सामाजिक विकास मन्त्रालयले २०८२ पुस २० मा सम्झौताका लागि नगरपालिकालाई पत्राचार गरे पनि नगरपालिका उपस्थित भएन । त्यसपछि माघ ७ मा पुनः पत्र पठाइए पनि सम्झौता प्रक्रिया अघि बढ्न सकेन ।
यसैबीच, औपचारिक हस्तान्तरण नहुँदै प्रदेश सरकारले अस्पताल विकास समिति गठन गरेपछि विवाद थप चर्किएको छ । नगर प्रमुख शाहीले आफूलाई जानकारी नदिई एकतर्फी रूपमा समिति गठन गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
यता मन्त्रालयका सचिव डा। हेमराज रेग्मीले भने अस्पताल प्रदेश मातहत सञ्चालन गर्ने निर्णय भइसकेको र सम्झौता प्रक्रिया मात्रै बाँकी रहेको बताएका छन् ।
कर्मचारीमा अन्यौल र नैराश्यता
अस्पतालमा कार्यरत कर्मचारीहरू पनि वर्तमान अवस्थाबाट प्रभावित भएका छन्। २०८२ वैशाखदेखि चैतको पहिलो हप्तासम्म ६५ हजार ९५६ जनाले सेवा लिएको यस अस्पतालमा हाल ८१ जना कर्मचारी कार्यरत छन्। तीमध्ये १३ जना स्थायी र ६८ जना करार सेवाका छन् ।
कर्मचारीहरूका अनुसार राजनीतिक विवादका कारण संस्थागत भविष्य अन्यौलमा परेपछि उनीहरूमा नैराश्यता बढ्दै गएको छ। ‘यो संस्था हाम्रो लागि केवल काम गर्ने ठाउँ मात्र होइन, भावनात्मक रूपमा पनि जोडिएको छ। अहिलेको विवादले हामी अन्यौलमा परेका छौं,’ एक कर्मचारीले भने ।
हाल अस्पतालमा बिरामी भर्ना, खोप कार्यक्रम, ल्याब सेवा, फार्मेसी र आँखा सेवा सञ्चालनमा छन् । वार्षिक करिब ७० हजारभन्दा बढीले सेवा लिने यस अस्पताललाई सञ्चालन गर्न लम्कीचुहा नगरपालिकाले तीन करोड रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।
राजनीतिक कोप भाजनको सिकार बन्दै लम्कीचुहा अस्पताल
एकातर्फ नगरपालिकाले अस्पताल आफ्नै मातहतमा सञ्चालन भइरहेको दाबी गरिरहेको छ भने अर्कोतर्फ प्रदेश सरकारले विकास समिति गठन गर्दै अस्पताल प्रदेश मातहतमा आइसकेको बताइरहेको छ ।
दुवै पक्षबीचको यही असमझदारीका कारण अस्पताल आन्तरिक किचोलोमा फस्दै गएको छ । स्थानीयका अनुसार ‘अस्पताल सुधारभन्दा पनि शक्ति प्रदर्शनमा ध्यान केन्द्रित भएको’ अनुभूति भइरहेको छ । जसको शिकार लम्कीचुहा अस्पताल भइरहेको छ ।
दीर्घकालीन असरको चिन्ता
लम्कीचुहा अस्पतालको वर्तमान अवस्था समयमै सुधार नगरे दीर्घकालीन रूपमा गम्भीर असर पर्ने देखिन्छ । स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य अभाव रहिरहे अस्पतालको अवस्था झनै जटिल बन्ने खतरा रहेको सरोकारवालाहरू बताउँछन् । यसको सीधा मार सर्वसाधारण जनतामाथि पर्ने निश्चित छ । उपचार दिने संस्था नै उपचारको खाँचोमा परेको वर्तमान अवस्थालाई तत्काल समाधान गर्नु सबै सरोकारवालाको साझा जिम्मेवारी बनेको छ ।
अन्यथा बिरामी ठिक बनाउने लम्कीचुहा अस्पताल आफैँ बिरामीको अवस्था अझै गहिरिँदै जाने निश्चित जस्तै छ ।
















