लिबियामा सेना र विद्रोहीबीच भिडन्त ३२ को मृत्यु, ५० घाइते
एजेन्सी | २०७५ चैत्र २६ गते १४:२३ मा प्रकाशित
त्रिपोली — लिबियाको राजधानी त्रिपोलीमा भएको सरकारी सेना र विद्रोहीबीचको भिडन्तमा कम्तीमा ३२ जनाको ज्यान गएको छ । त्रिपोली कब्जा गर्न हिँडेका खलिफा हफ्तार नेतृत्वको लिबियन नेसनल आर्मी र सरकारी सेनाबीच देशको दक्षिणी भेगका ३ स्थानमा भिडन्त भइरहेको छ । भिडन्तमा ५० भन्दा बढी घाइते छन् ।
लिबियाका विद्रोही समूहसँगको सम्भावित भिडन्तका लागि तयारी गर्दै सरकार समथित लडाकु । तस्बिर : राेयटर्स
हफ्तार पक्षले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थल कब्जामा लिएको दाबी गरेको छ । अधिकारीका अनुसार सोमबार युद्धक विमानले आक्रमण गरेपछि विमानस्थल बन्द गरिएको छ । आक्रमणको कुनै पनि पक्षले जिम्मेवारी लिएको छैन् ।
Citizen
राष्ट्रसंघको समर्थन रहेको सरकारका प्रधानमन्त्री फाएज अल–सर्राजले जर्नेलहफ्तारले ‘कु’ प्रयास गरेको आरोप लगाए । सर्राजले आफ्नो सरकार ‘शान्तिका लागि अग्रसर भइरहेका बेला षड्यन्त्र’ भएको जनाए । उनले जर्नेल हफ्तारविरुद्ध कडा प्रतिरोध गरिने चेतावनी दिए ।
आइतबार पनि त्रिपोली नजिकै सरकारी सेना र हफ्तार समर्थित विद्रोहीबीच भिडन्त भएको थियो । त्रिपोली राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको सरकारको आधार क्षेत्र हो । स्वास्थ्यमन्त्री अहमिद ओमारका अनुसार भिडन्तमा हफ्तार समर्थित १४ लडाकु मारिएका छन् ।
संयुक्तराष्ट्र संघ र अमेरिकाले दुवै पक्षलाई तत्काल युद्धविराम गर्न आग्रह गरे पनि भिडन्तहरू जारी छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले लिबिया घटनाप्रति चासो व्यक्त गर्दै लिबिया समस्या ‘राजनीतिक वार्तामार्फत’ समाधान गर्नुपर्ने बताए ।
उनले भनेका छन्, ‘लिबिया द्वन्द्वको सैनिक समाधान छैन ।’राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले गन शुक्रबार शान्ति स्थापनका लागिहफ्तारलाई भेटेका थिए । तर वार्तामा सहमति हुन नसकेपछि हफ्तारले आफूप्रति बफादार लडाकुलाई त्रिपोली कब्जा गर्न आदेश दिएका हुन् । यद्यपि, उनको सेनाको क्षमता कति छ भन्ने प्रस्ट छैन ।
भेटवार्तापछि महासचिव गुटेरेसले दुई पक्षबीचको सम्भावित भिडन्त रोक्न कुनै उपाय निस्कनेमा आफू आशावादी भएको बताएका थिए । उनले जस्तोसुकै परिस्थितिमा पनि राष्ट्रसंघ तथा आफू लिबियाली जनाताको पक्षमा रहने प्रतिबद्धता जनाएका थिए ।
सन् २०११ अपदस्थ नेता मौमार गद्दाफीको हत्या गरिएपछि लिबियामा हिंसा जारी छ । विभिन्न सशस्क्र समूहबीच शत्ति हत्याउने र तेलका कुवामा वर्चस्व कायम गर्न बारम्बार भिडन्त हुने गरेका छन् ।
लिबियामा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानका निम्ति भइरहेका अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास विफल हुँदै आएका छन् । रूस, फ्रान्स तथा बेलायतले युद्धरत पक्षलाई हतियार बिसाउन आग्रह गरेका आएका छन् । ‘यो लिबियाका लागि निकै संवेदनशील समय हो । लिबियाको समस्याको सैनिक समाधान छैन्,’ ती देशद्वारा संयुक्त रूपमा जारी वक्तव्यमा उल्लेख छ ।
को हुन् हफ्तार ?
विद्रोहीको नेतृत्व गरेका हफ्तार लिबियाली सेनाका पूर्व जर्नेल हुन् । उनले स्न १९६९ मा इद्रिस प्रथमलाई अपदस्थ गरी गद्दाफीलाई सत्तासीन गराउन सहयोग गरेका थिए । इद्रिस सन् २०५१ देखि १९६९ सम्म लिबियाको राजा भएका थिए । तर केही समयपछि गद्दाफीसँग सम्बन्ध बिग्रिएपछि हफ्तार अमेरिका गए ।
सन् २०११ मा गद्दाफीविरुद्ध आवाज उठाएपछि सिरिया पुगे र विद्रोही नेता बने । गत वर्षको डिसेम्बरमा लिबियाका अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रधानमन्क्री सेराजलाई एक सम्मेलनका त्रममा भेटे पनि आधिकारिक रूपमा वार्ता गर्न अस्वीकार गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय समुदायको चासोबीचहफ्तारलाई रूस, इजिप्ट र संयुक्त अरब इमिरेट्सले सैनिक समर्थन गर्दै आएका छन् । गत साता साउदी अरबको भ्रमण गरेकाहफ्तारले राजा सलमान र राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका थिए ।