झपट रावल यसकारण सामाजिक अभियान्ता हुन्
एजेन्सी | २०७६ बैसाख ५ गते १०:४० मा प्रकाशित
गणेश वि.के.
भपट रावल एक आन्दोलनको नाम हो, परिवर्तनको नाम हो र भरोसायोग्य कम्यूनिष्ट युवा नेताको नाम हो । काठमाडौंका सडकमा जति पानी बगेको छ, आन्दोलनका क्रममा उनको रगत त्यति नै बगेको छ भन्ने उनका समकालीनहरुले चर्चा गर्छन् ।
अछाम जिल्लाको दुर्गम गाउँमा सामन्य परिवारमा जन्मेका रावल पढाईका क्रममा काठमाडौंमा आउँदा उनले अछाम जिल्लामा रहेका दलित, छुवाछूत, छाउपडी, निर्वासनलगायतका अन्याय अत्याचारको अन्त्य गर्न विद्यार्थी राजनीतिमा होमिए । यद्यपि उनी सानो छँदै आमाबुवा गुमाएकाले हरेक कुराको निर्णय स्वयंले गर्नुपर्ने थियो । त्यसले उनले हरेक बुवाआमाले आफ्नो छोरो डाक्टर वा इन्जिनियर बनोस् भन्ने अपेक्षाको सामना गर्नु परेन । बरु तमाम चुनौतिका बाबजूद उनी नेकपा एमालेको जनसंगठन युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष भए ।
त्यसवेला महेश बस्नेत नेतृत्वको समयमा सडकको आन्दोलनको युवा नेताको रुपमा झपट रावल चिनिन्थे । उनले युवा विद्यार्थी आन्दोलनबाट विदा लिने वितिकै पार्टी राजनीतिमा समाहित हुँदै नेकपा एमालेको केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज भए । निर्वाचन जित्न आफ्नो भूगोल चाहिन्छ भन्नेहरुलाई भूगोल मात्र होइन, बिचार चाहिन्छ । भनेको कुरा पूरा गर्ने प्रतिबद्धता चाहिन्छ र त्यो पार्टीको नेतृत्वमा मात्र सम्भव छ भन्ने कुरा व्यवहारमा प्रमाणित गर्दै गएको निर्वाचनमा उनले कैलालीको थारु बाहुल्यता क्षेत्र नं. २ बाट सानदार रुपमा विजय हासिल गरेर नयाँ इतिहास कायम गरिदिए ।
पछिल्लो दिनमा उनलाई नेकपाका स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका पूर्व उपप्रधान, रक्षा तथा गृहमन्त्री भीम रावलले उठाएको राष्ट्रियता तथा असन्तुलित विकासको झण्डामुनी गोलबन्द भएको चर्चा सुनिन्छ । प्रतिनिधिसभामा उनले बेलाबेलामा बोलेको कुराले पनि यही कुराको पुष्टी गरेको देखिन्छ ।
आफूले महशुस गर्नु र अध्ययन गर्नु फरक फरक कुरा हो भन्ने कुरा कैलाली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेकपाका युवा नेता रावलले व्यवहारमा उतारेका छन् । यही २०७५ चैत्र २४ रावल आफनो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने जानकी गाउँपालिका वडा नम्बर ९ अमरावतीमा रहेको हिमालय राष्ट्रिय माध्यामिक विद्यालय लम्कीफाँटा अमरावतीमा पुगेर ४ जना बालबालिकाहरु बुवाआमा नभएका अविभावकविहीन १ जना दलित सहितका ४ जना बालबालिकाको अवस्था सुने ।
जब उनले ती ४ जना बालबालिकाको आर्थिक सामाजिक अवस्था सुने र देखे, तब उनले आफ्नो बालापन सम्झे र स्वयं भक्कानिए । बाबुआमा नहुँदाको पीडा रावललाई राम्ररी अनुभव थियो । उनले ती बालबालिकाको अनुहारमा आफू अभावै अभावको पीडा भोग्दाको दुःखद घडी देखे अनि भक्कानिए । जब उनी भक्कानिए, सभामा आएका अरुको पनि मन थामिएन र उनीहरुका पनि आखाँ रसाउन थाले । त्यो भावविहल अवस्थामा सांसद रावलले आफू समालिँदै नयाँ घोषणा गरे । सो क्षेत्रको प्रतिनिधि अर्थात् आखाँबाट आसु झारिरहेका जनताको सच्चा प्रतिनिधि हुनुको नाताले उनले ती ४ जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरे । उनले आफ्नो कार्यकालको ४ वर्षे अवधिका लागि मात्र होइन, उनीहरुको जीवनभरका लागि अभिभावकको भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत गरे ।
उक्त विद्यालयमा अध्यनरत असहाय टुहुरा बालबालिकाहरुमा युवराज आउजी (दमाई), भावना सिंह, भुपेश साउँद र प्रविन चौधरी थिए । उनले विद्यालयको प्रागणमा सो विद्यालय, त्यहाँका शिक्षक र अविभावकहरुलाई साँची राखेर चार जना बालकहरुको शिक्षा, औषधी उपचार लगायतका सम्पुर्ण जिम्मा लिने प्रतिवद्धता जनाए । उनले भक्कानिदै थपे ‘बाबुहरु आजदेखि तिमीहरुले मलाई आफ्नो अभिभावक ठान्नु र अप्ठयारो पर्दा मलाई सम्झनु र अभाव भएका बेला मलाई फोन गरेर माग्नु ।’
उनले आफनो स्वर्गीय आमा, बुवा र बाल्यकाल सम्झँदै त्यस विद्यालयमा अध्यनरत असाहय टुहुरा फरक क्षमता भएका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेकोसमेत दोहोर्याए । जुनबेला उनका आखाँभरि आँसुसमेत आएको स्पष्ट देख्न सकिन्थ्यो । उनले आमा बुवा नहुँदाको पीडा आफुलाई राम्रोसँग महशुस भएको र आफुले चुनावताका जनताको मालिक नभई सेवक र असहायहरुको अभिभावक बन्न मतदान गर्न आव्हान गरेको स्मरण गर्दै यो अविभावकत्व ग्रहण गरेको बताए ।
उनले आफू सत्तारुढ पार्टीको एक जना जिम्मेवार नेता हुनुको नाताले अब कोही पनि बालबालिका शिक्षाबाट बन्चित हुन नपर्ने र त्यसको नेतृत्व आफुले लिएर नीति बनाउन पहल गर्ने समेत प्रतिबद्धता जाहेर गरे । उनले आफू र आफ्नो पार्टीले चुनावताका गरेका बाचाहरु यसै गरी पूरा गर्ने विश्वास दिलाउँदै विगतका जनप्रतिनीधिहरुले गरेका कमीकमजोरीहरु छताछुल्ल गर्नतिर नलाग्ने बरु त्यसबाट शिक्षा लिएर अघि बढ्ने पुनः दोहोर्याए ।
साँसद रावलले आफूले आफ्नो क्षेत्रको, आफ्नो जिल्लाको, आफ्नो प्रदेशको र देशको विकासको लागि आफूले संसदमा समेत जोडदाररुपमा आवाज उठाउने गरेको बताए । संसदबाट बन्ने हरेक कानूनहरुमा आफूले आफ्नो निर्वाचन क्षेत्रका गरिब, थारु समुदाय, दलित समुदाय, महिला र पिछडिएका क्षेत्रका जनताहरुको अनुहार सम्झेर आफ्ना तर्कहरु प्रस्तुत गर्ने गरेको बताए ।
आफनो निर्वाचन क्षेत्रमा विद्यालय रोज्ने वर्तमानको प्रावधान अनुसार आफूले हिमालय माविलाई रोजेको जानकारी गराउँदै यस विद्यालयमा सुचना प्रविधि प्रयोगशाला स्थापनाका लागि यसै आर्थिक वर्षमा रकम समेत विनियोजन गरेको र विद्यालयको भौतिक संरचनाका लागि समेत पहल गर्ने बताए । सासंद रावलले सिंहदरबार तथा केन्द्रमा बस्ने जनता सरह आफनो निर्वाचन क्षेत्रका जनताले समेत सुविधा उपभोग गर्न पाउनुपर्ने आफ्नो दृष्टिकोणमा कुनै परिवर्तन नआएको दोहोर्ए । आफूले अविभाकत्व ग्रहण गरेका वालकहरुको भविष्य यस क्षेत्रको सडक, विद्यालय, अस्पताल, विद्युत, रोजगारीलगाएतसंग जोडिएको हुनाले आफू यस क्षेत्रमा उक्त योजनाकासाथ लागि परेको जानकारी गराए । स्थानीय सरकार अन्तरगत सो वडा कार्यालयले समेत आफ्नो अभियानलाई सहयोग गर्दै राम्रो काम गरेकोमा वडा अध्यक्ष खकेन्द्र भण्डारीलाई धन्यवाद दिदै त्यस कार्यमा सम्पुर्ण वडावासीहरुले सहयोग गर्नुपर्ने बताए । यसै गरी नयाँ युगको नयाँ विकास अभियानमा सहयोग गर्न यस क्षेत्रका शिक्षक, वकिल, विद्यार्थी, यूवा, जनप्रतिनीधि र आम जनसमुदायलाई सधै वाचडगको भूमिकामा रहन समेत अनुरोध गरे ।
यति मात्र होइन साँसद रावलले जानकी गाउपालिकाको ९ नम्बर वडामा रहेका असहाय अनाथ असक्त बालबालिकाहरुलाई अक्षय कोषका लागि ५० हजार र साँस्कृतिक जगेर्ना तथा संरक्षणका लागि पन्चेबाजा समुहलाई आफनो १ महिनाको सुविधा दिने घोषणा गरेका थिए । सासंद रावलले सोही गाउँपालिकाको वडा नं. ९ मा नेपाल जातीय संग्रहालयको समेत स्थापना गर्न सहयोग गरेका छन् । निर्वाचनका बेला सो क्षेत्रका थारु समुदायको संस्कृति जगेर्ना गर्न संग्रालय स्थापना गर्ने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका थिए । ‘हाम्रो नगर हाम्रो गाउँ सबै बालबालिकालाई विद्यालय पु¥याऔं’ भन्ने नाराकासाथ शुरु भएको अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर रावल सभापतित्वमा सांसद रावल प्रमुख अतिथि थिए ।
यसरी नै हरेक राजनीतिज्ञ, जनप्रतिनिधि तथा समाजसेवीहरुले यही खालको प्रतिबद्धता पूरा गर्ने र जनतालाई मालिक ठान्ने, असहायलाई आफ्नै छोराछोरीको रुपमा ग्रहण गर्ने अवस्था आएमा समृद्ध नेपाल, सुखी नेपालीको नारा केबल कल्पनामा मात्र सीमित हुने छैन ।
(लेखक : दलित अधिकारकर्मी हुन्)