कैलालीको बर्दगोरियामा पुल नहुदा जोखिम मोलेरै नदि तर्नुपर्ने बाध्यता,
एजेन्सी | २०७६ श्रावण ९ गते १६:३४ मा प्रकाशित
Loku Singh Thakuri
श्रावण ९ सुखड
गत असार २२ गते कैलालीको बर्दगोरिया गाँउपालिका वडा नम्बर ३ का स्थानीयबासी कमल बहादुर टमट्टाकी ७ बर्षिया छोरी यसोदा टमट्टाले काँडा नदि तर्दै गर्दा बगेर ज्यान गुमाईन । उनी संगै रहेकी एक ९ बार्षिया बालिका भने घाईते भईन । उनीहरु नदिमा नुहाउदै गर्दा वा पौडि खेल्दै गर्दा नभई कामको शिलशिलामा मुडा बजार जादै गर्दा नदि तर्ने क्रममा उनको ज्यान गएको हो ।
गत वर्ष पनि नदि तर्ने क्रममा २ बालकको बगेर ज्यान गयो । यि त उदहारण मात्र हुन । बर्षेनी यस वडाका बासिन्दाहरुले नदि तर्ने क्रममा अकालमै ज्यान गुमाउने गरेका छन । कारण हो नदिमा पुल नहुनु ! काडाँ नदि र कुईरा नदिले घेरीएको वडा नम्बर ३ भौगोलिक रुपले दुर्गम देखिएको छ । यस वडा अन्तर्गतका रानिकुण्डा, खैरेनी र बुटकौवाका बासिन्दाहरुले पुल अभावमा बर्षा याममा जोखिम मोल्नु पर्ने बाध्यता रहेको छ । चुरे क्षेत्रमा सामान्य बर्षा हुदा समेत स्थानीयहरु बाढीबाट प्रभावित हुने गरेका छन । बर्षात हुदा बिशेष गरी विद्यार्थी, कर्मचारी, ब्यापारी, बिरामी, अशक्त तथा बृद्धहरु बढी समस्यामा पर्ने गरेका छन । जोखिम मोलेरै नदि पार गर्दा बगेर ज्यान जान सक्ने खतरा एकातिर छ भने जोखिम नमोल्दा कतिपय बिरामीको ज्यान जान सक्ने खतरा अर्को तिर हुने गरेको छ ।
दैनिक उपभोग्य सामान खरिदका लागि मुडा बजार तथा बौनियाँ बजार गएका स्थानीय तथा ब्यापारीहरु नदिमा पुल नहुदा साझ घर फर्किने टुङ्गो समेत नहुने गरेको वडा नम्बर ३ का वडा सदस्य टंक ओलीले बताए । उनले भने,... “दिनभरी बजारमा तथा कार्यालयमा काम गरेर साझ घर फिर्कीदा नदिमा बाढी आएको खण्डमा बौनियाँका होटलमा बास बस्नु पर्ने बाध्यता छ ।” यो समस्या समाधानका लागि सरकारले पहलको प्रयास थालेको बताएपनि जनताको आँखामा छारो हाल्ने काम मात्र गरेको अर्का स्थानीय गोबिन्द बि.सि.ले दुखेसो गरे । सेती लोकमार्ग यही वडा भएर जाने भएकाले पक्की पुल माथिबाट नदि पार गर्ने तथा सर्वे भएका झुलुङ्गे पुलबाट नदि पार गर्ने यस वडाबासीको चाहना हाल सम्म पनि पुरा हुन सकेको छैन ।
उसो त स्थानीय विकास मन्त्रालय अन्तर्गत झुलुङ्गे पुल महाशाखा लालितपुरले यस वडा जोड्ने २ वटा झुलुङ्गे पुलको सर्वे गरेको छ । श्रोतका अनुसार सर्वे महाशाखाले गरे पनि पुल निर्माण तथा प्राथमिक्ता निर्धारणका लागि नेतृत्व पंक्तिले दवाव दिनु पर्ने तथा समन्वय गर्नु पर्ने हुन्छ तर समन्वयमा कमि भएको पाईएको छ । पुलको सर्वे तथा डिपिआर गर्ने जिम्मा पाएको ईन्जिनियरिङ एण्ड एजुकेसन सर्विसेज प्रा.लि. काठमाण्डौका संचालक राजिव बरालले भने आफनो सम्झौता अवधि २०७६ को भाद्र महिना सम्म रहेकाले डिपिआरको काम भईरहेको तथा आफुले जिम्मा पाएका १९ वडा झुलुङगे पुलको काम एक साथ सम्पन्न गरि कार्यालयमा पेश गर्नु पर्ने भएकाले केही ढिलाई हुन गएको प्रतिक्रिया दिएका छन । आयोजनाको काम अघि सारेको स्थानीय बिकास मन्त्रालय अन्तर्गत झुलुङगे पुल महाशाखा ललीतपुरका प्रमुख कुमार थापाले कार्यालयमा धेरै पुलहरुको सर्वे फाईल हुने भएकाले सबै कुरामा ध्यान दिन नसकिने भन्दै अति आवश्यक ठाउँका लागि सम्बन्धीत क्षेत्रबाट समन्वय बढी हुनु पर्ने बताए । यस क्षेत्रको पुलको डिपिआरको काम सम्पन्न भए लगत्तै पहिलो प्राथमिक्तामा राखेर काम अघि बढाउने उनले आश्वासन दिएका छन ।
सेती लोकमार्गको वातावरणीय प्रभाव मुल्यांकनको रिपोर्ट आईसकेकाले मन्त्रालयमा छलफल भई चाडै काम शुरु हुने भन्दै कैलाली निर्वाचन क्षेत्र नम्बर २(ख) बाट निर्वाचित सुदुरपश्चिम प्रदेश सरकारका सांसद नन्द बहादुर साउदले झुलुङगे पुल महाशाखा संग समन्वय गरी चालु आर्थिक वर्ष भित्र झुलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरी अघि बढ्ने बताएका छन । यस क्षेत्रका जनताको समस्याको बारेमा आफु जानकार र निकै चिन्तित भएको भन्दै कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघिय सांसद झपट बहादुर रावलले आफ्नो निर्वाचन क्षेत्रका अधिकांस झुलुङ्गे पुलहरुको सम्झौता भईसकेकाले निर्माणको काम शुरु हुने तथा सम्झौता नभएका पुलहरुको चाडै सम्झौता गरी काम अघि बढाईने बताएका छन । साथै बर्षा याममाका सबैले सजग र सचेत भएर काम गर्न अनुरोध गर्दै अरुलाई दोष दिएर आफ्नो ज्यान जोखिममा नपार्न समेत उनले आग्रह गरेका छन ।