तारा जैशीको उपचारको लागि ६१ हजार ५ सय रकम हस्तान्तरण
धनराज बि.क अबिरल | २०७६ श्रावण २० गते ११:५६ मा प्रकाशित
समाचार प्रभावः
लम्कीचुहा नगरपालिका ६ बावनपुरमा बस्ने १९ बर्षिय तारा जैशीको स्याहार सुसार र उपचारको लागि साउन ११ गते उनकै घरमा ६१ हजार ५ सय रकम हस्तान्तरण गरिएको छ ।
नेपालको धरान घरभई हाल इजरायलमा बस्ने सुनिता गुरुङको पहलमा भएको तारा जैशीको स्याहार सुसार र उपचारको लागि सहयोग संकलन गरी पठाएको ६१ हजार ५ सय रकम सनिबार तारा जैशीको आमा सुर्जकला जैशीलाई हस्तान्तरण गरिएको हो ।
लम्कीचुहा नगरपालिका ६ का जनप्रतिनिधि, समाजसेवी बुद्धिजिवी, सामाजिक अगुवा, स्थानीयबासी र संचारकर्मीको सहभागिता रहेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा लम्कीचुहा नगरपालिका ६ का जनप्रतिनिधि जमानसिंह देउबाले रकम हस्तान्तरण गरेका थिए । कैलाली पोष्टमा पत्रकार धनराज विकको दुईबर्ष देखि बाख्राको खोरमा शीर्षको समाचार प्रकाशित भएपछि तारा जैशीलाई सहयोग संकलन र उपचार गर्ने काम भएको थियो
सहयोग गर्ने क्रममा इजरायलमा रहेका २३ जना नेपालीहरुले तारा जैशीको स्याहार सुसार र उपचारको लागि सहयोग संकलन गरिएको रकम कैलाली पोष्टमा कार्यरत पत्रकार धनराज बिकको खातामा पठाएको सहयोग संकलन अभियानकर्ता सुनिता गुरुङले बताईन् । तारा जैशीको बारेमा लेखिएको समाचारले मन छोएपछि सानो सहयागको यो रकमको सदुपयोग सही तरिकाले हुनुपर्नेमा जोड दिदैं सकारात्मक सोचका साथ मानवीय सहयोगमा सबैले एक भएर लाग्नुपर्ने गुरुङ बताउँछिन् ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै जनप्रतिनिधि जमानसिंह देउबाले पत्रकार धनराज बिकले दुईबर्ष देखि बाख्राको खोरमा शीर्षकमा लेखेको समाचार कैलाली पोष्टमा प्रकाशित भएपछि तारा जैशीको अवस्थाको बारेमा सबैलाई जानकारी भएको बताए । स्थानीय सरकार र हामी जनप्रतिनिधिको पनि ध्यानाकर्षण भएको थियो । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईको एक टोली ताराकै घरमा पुगेर भेटघाट गरी उपचारको लागि २० हजार सहगोग गरेको उनले बताए । बाख्राको खोरमा बाँधेर राखेकी तारा घरमा बस्दै आउनु र परिवारले स्याहार सुसारमा ध्यान दिनु समाचारको सकारात्मक प्रभाव परेको उनले बताए । ताराको उपचारको लागि इजरायल बाट सहगोग गर्ने सुनिता गुरुङको सहयोगी समूहलाई धन्यवाद दिदैं मानव सेवामा लाग्न समेत उनले आग्रह गरे ।
सानै उमेर देखि शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेकी तारा जैशीलाई बाध्यताले बाँधेर ब्राखाको खोरमा राख्नु परेको आमा सुर्जकलाले बताईन । गरिबीका कारण उपचार गर्न नसकेको भन्दै समाचार छापिए पछि पहिलो पटक उपचार भएको उनी बताउँछन् । उपचारको लागि दृष्टि फाउण्डेसन नेपाल धनगढीले १४ दिन सम्म उपचार गरी घर फर्काएको थियो ।
अक्षर साहित्य प्रतिष्ठान लम्की कैलालीका सल्लाहकार संयोजक रोशन बोहराले समाचार प्रकाशित भएपछि तारा जैशीको जीवन बदलिएको हो । समाचारले पारेको प्रभावले समाचारको महत्व बढेको भन्दै समाजमा राम्रो सन्देश फैलिएको बताए । पत्रकारिता मार्फत सामाजिक र मानवीय विकासको उत्कृष्ट कार्य भएको विचार राखेका थिए । सामुदायिक रेडियो पश्चिम आवाजका स्टेशन म्यानेजर देवानन्द न्यौपानेले इजरायल बाट सहयोग गर्ने सुनिता गुरुङको टोलीको कामको प्रशंसा गरेकाछन् । समाजसेवी बल बहादुर बुढाले ताराको जिन्दगी सम्झेर रुदैं सहयोग रकम हस्तान्तरण कार्यक्रममा ५ हजार सहयोग गर्ने बताए ।