एजेन्सी | २०७५ फाल्गुन १९ गते ०८:३७ मा प्रकाशित
पोखरा । सडन डेथमा थ्रीस्टारसँग पराजित भएपछि आर्मी पहिलो पटक आहारारा गोल्डकप फुटबलको उपाधि जित्नबाट चुक्यो । तर, यदि सडन डेथमा आर्मीले जितेको भए पनि उसले उपाधि पाउने थिएन, थ्रीस्टार नै जित्थ्यो ।
तपाई भन्नुहोला, यो कसरी हुन्छ ? सडन डेथ जितेको भए त आर्मी नै च्याम्पियन बन्थ्यो ।
तर, होइन । आर्मी आफ्नो गल्तीका कारण उपाधि गुमाउने अवस्थामा पुगिसकेको थियो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि रेफ्रीले ३० मिनेट थपिएको सूचना दिँदै खेल सुरु गरे । लगतै आर्मीका सेसेहाङ आङ्दाम्बेको ठाउँमा आशिष शाक्य मैदान प्रवेश गरायो । तर उनको नाम शनिबार हुने फाइनलको नेम लिस्टमै थिएन । सुइँको कसैले पाएनन्, खेल भइरहृयो ।
आर्मीको त्यो ‘झेली’ त्यतिबेला बाहिरियो, जब आर्मीका विकास खबाससँग विवाद गरेका कारण थ्रीस्टारका सुनिल बलले रातो कार्ड पाए । १० खेलाडीमा सीमित भएको थ्रीस्टारले तत्काल गोल खायो । लगतै थ्रीस्टारका टिम म्यानेजर मुकेश नकर्मीले आशिष शाक्यको नाम नेम लिस्टमा नरहेको रेफ्रीलाई जानकारी गराए ।
यससँगै तनाव उत्पन्न भयो । रेफ्रीले शाक्यलाई बाहिर पठाएर आर्मीलाई १० खेलाडीमा सीमित राखेर पुनः खेल सुरु गरे ।
थ्रीस्टारका मुकेश नकर्मी ननप्लेयर खेलाडीलाई मैदान पठाइन आयोजक र विपक्षी टिम दुवैको गल्ती भएको बताए । ‘सहारा क्लबको साखलाई जोगाउन मात्रै हामी चुप लागेका हौं,’ उनले भने, ‘खासमा फिफाको नियम अनुसार ननप्लेयर खेलाइएको पाइए हामीले स्वत ३-० को जित निकाल्थ्यौं ।’
आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि आर्मीले खेल जितेको भए पनि उपाधि गुमाउने स्वीकार गर्छन् । तर, ‘ननप्लेयर’ मैदान जानुमा आयोजकको गल्ती भएको दाबी गरे । ‘हामीले सुरुमै भनेका थियौं । नेम लिस्ट दिँदा मिसअन्डस्टयान्डिङ भएछ,’ उनले भने, ‘मैदानमा पठाउँदा पनि हेरेर पठाउनुपर्थ्यो ।’
आर्मीका प्रशिक्षक न्यौपानेले अघि भनेका छन्, ‘मिस कम्युनिकेसन भएर त्यस्तो भएको हो तर, विपक्षीले प्रोटेस्ट हालेको भए हामी स्वत हार्ने थियौं ।’