खेलकुद
जानकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
प्रशासक | २०८२ पौस ७ गते ०७:५६ मा प्रकाशित
अक्षर साथी
लम्की, पुस ७
कैलालीको जानकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जानकी गाउँपालिकाका ३६ विद्यालयको सहभागितामा आइतबारदेखि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि कैलाश चौधरीले प्रतियोगिताको उद्घाटन गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदको आवश्यकता रहेको बताए । साथै, प्रमुख अतिथि चौधरीले खेलकुदलाई पहिला मनोरञ्जनका रूपमा हेरिने भए पनि यसका माध्यमबाट नेतृत्व विकास पनि हुने बताउँदै खेलकुदको औचित्य प्रष्ट पारे ।
त्यस्तै, जानकी गाउँपालिकाको ‘शिक्षा, स्वास्थ्य, कृषि र वातावरणमैत्री पूर्वाधार, पहिचानसहितको जानकी गाउँपालिका विकासको मूल आधार’ नारा अनुसार शिक्षातर्फका खेलकुद गतिविधि निरन्तर सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताए । गत वर्ष आयोजित शैक्षिक मेलामा राष्ट्रिय स्तरमा खेल्ने खेलाडीलाई सम्मान गरिएको र सानैदेखि प्रतिस्पर्धाको भावना जागोस्, बालबालिकाको उन्नति र प्रगति होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चौधरीको भनाइ थियो ।
‘सानैदेखि बालबालिकामा खेलकुदप्रति रुचि जगाउन सके भविष्यमा उनीहरू कुलतमा फस्ने जोखिम कम हुन्छ । त्यसका लागि यस्ता प्रतियोगिता निकै महत्वपूर्ण छन्,’ वडा अध्यक्ष तथा खेलकुद संयोजक कमल महत्वले बताए ।
जानकी गाउँपालिकाका ४५ विद्यालयमध्ये ३५ विद्यालयका खेलाडीहरूले भलिबल, कबड्डी, कराते र एथलेटिक्स विधामा प्रतिस्पर्धा गर्ने छन् । यस प्रतियोगिताले विद्यार्थीको शारीरिक, मानसिक र संवेदनात्मक विकासमा सहयोग पुग्छ,’ शिक्षा शाखा प्रमुख धर्मानन्द कपडीले बताए ।
उनका अनुसार मेडल र ट्रफी प्राप्त गर्दा विद्यार्थीमा राम्रो काम गरे पुरस्कृत भइन्छ भन्ने भावना विकास हुन्छ, जसले उनीहरूको आत्मविश्वास बढाउनुका साथै समग्र विकासमा सकारात्मक प्रभाव पार्छ ।
जानकी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ९ गतेसम्म सञ्चालन हुनेछ ।