सुदुरपश्चिम प्रदेश
बालिकाहरुको लागि आत्मरक्षा तालिम सुखडमा सम्पन्न
कैलाली पोष्ट | २०७६ असोज २ गते १५:०३ मा प्रकाशित
लोकु सिंह ठकुरी, असोज २ सुखड,
सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग कार्यक्रम (स्टेम परियोजना) ले आयोजना गरेको ५ दिने आत्मरक्षा तालिम कैलालीको सुखडमा सम्पन्न भएको छ । गत भाद्र २९ गते देखी सुुरु भएको आत्मरक्षा तालिम बिहिबार सकिएको हो । तालिममा विद्यालय बाहिरका ३५ जना बालिकाहरुको सहभागीता रहेको थियो ।
तालिमबाट बिभिन्न हिंसाका स्वरुप, हिंसा हुन सक्ने सम्भावित क्षेत्र तथा हिंसाबाट बच्न आपनाउनु पर्ने उपायका बारेमा सिकेको सहभागी रिता शाहीले बताईन । तालिममा सहभागी हुदा आफनो आत्मविश्वास बढेको र बोल्ने क्षमताको समेत बृद्धी भएको उनको भनाई छ । घरमा पाहुना आउदा समेत लुक्ने घोडाघोडीकी दुर्गा चन्दले स्टेमले बिभिन्न समयमा दिएको आत्मरक्षा तालिमबाट आफुमा निकै परिवर्तन भएको र हिंसाको बिरुद्धमा बोल्न सक्ने भएको बताईन । समापन कार्यक्रममा सहभागी घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनराज शाहीले सिकेको सीपलाई ब्यवहारमा लागु गर्दै अरुलाई पनि सिकाउन आग्रह गरे । पछिल्लो समय धेरै हिंसात्मक गतिबिधिहरु भईरहेकोले आत्मरक्षा तालिमले बालिकाहरुको आत्मबल बढे संगै धेरै सहजताको अनुभुती गर्ने धारणा राखे । स्टेम परियोजना आफनो विद्यालयमा पनि लागु भएको र यो परियोजनाले विद्यालय बाहिर तथा भित्रका बालिकाहरुमा निकै सकारात्मक परिवर्तन देखिएको राष्ट्रिय माध्यामीक विद्यालय सुखडका शिक्षक राम प्रसाद गौतमले बताए । शारिरिक संगै मानसिक हिंसा र त्यसबाट बच्ने उपाएका बारेमा पनि सबैले चासो दिनु पर्ने उनको भनाई थियो ।
स्टेम परियोजनाले बालिकाहरुलाई बिभिन्न हिंसाबाट बचाउने उदेश्यले ५ दिन सम्म शारिरिक अभ्यासबाट आत्मरक्षा बारे सिकाईएको र बालिकाहरुका लागि उपलब्धी मुलक हुने स्टेम परियोजनाका सामाजिक परिचालक बिन्तीराम चौधरीले बताए । स्टेम परियोजनाले सिमान्तकृत बालिकाहरुको शिक्षामा सहयोगका लागि बिभिन्न विद्यालय तथा समुदाय स्तरमा रहेर काम गरिरहेको छ ।