समाचार
निर्माणाधीन लम्की टीकापुर सडक खण्डको ४० प्रतिशत काम सम्पन्न
प्रिन्स बि.क | २०७८ मंसिर २८ गते ११:४१ मा प्रकाशित
लम्की । कैलालीको निर्माणाधीन लम्की–टीकापुर सडक खण्डको ४० प्रतिशत काम सम्पन्न भएको छ ।
लम्की देखि खक्रौला सम्म २७.५ किलोमिटरको पहिलो चरणमा लम्की देखि टीकापुर तर्फमा चार लेन सहितको आठ किलोमिटर निर्माणाधिन सडकको ४० प्रतिशतको काम सम्पन भएको हो ।
‘लम्की–टीकापुर–खक्रौला सडक खण्डको पहिलो चरणको निर्माणाधीन सडक लम्की देखि आठ किलोमिटर दक्षिणको सडकको काम ४० प्रतिशत सकिएको छ ।’ हुलाकी सडक निर्देशनालय अन्तरगतको धनगढी कार्यालयका इन्जिनियर पदम मडैले भने, ‘लम्की देखि टीकापुर तर्फको दुई किलोमिटर चार हुने र बाकी ६ किलोमिटर दुई लेनको हुने यस सडकमा माटो भरान, ग्राभेल, नाला निर्माण, डिभाइडर बनाउने काम अन्तिम चरणमा छन् ।’
यही गतिमा काम भइरहेको अवस्थामा फागुनमा कालोपत्रे गर्ने लक्ष्य रहेको ईन्जिनियर मडैले जानकारी दिए । ‘हामीले लम्की देखि टीकापुर तर्फको पहिलो चरणको आठ किलोमिटरलाई प्रथामिता दिएका छौं । तिव्रताका साथ काम अगाडि बढाएका छौं । यही गतिमा काम भइरहेको अवस्थामा फागुनमा कालोपत्रे गर्ने लक्ष्य लिएका छौं ।’ इन्जिनियर पदम मडैले भने ।
अब बाँकी रहेको काममा कालोपत्रेका लागि बेस तयार गर्ने, फुटपाथ बनाउने सहित फनिसिंगको काम बाँकी रहेको छ ।
पहिलो प्याकेजमा साढे दुई किलोमिटर चार लेन छ, दोस्रो प्याकेजमा ३.१ किलोमिटर चार लेन छ । तेस्रोमा सात सय मिटर चार लेन छ । बाँकी सडक दुई लेन निर्माण हुनेछ’, उनी भन्छन्, ‘सडकमा सातसात मिटर कालोपत्रे, नाला र फुटपाथ बन्छ ।’’
लम्की–टीकापुर–खक्रौलाको २७.५ किलोमिटरको सडक निर्माणको काम पूरा हुन ०७९ पुसमा हुने इन्जीनियर पदम मडैले जानकारी दिए । लम्कीदेखि आठ किलोमिटर पहिलो खण्ड, आठ किलोमिटरदेखि १८ किलोमिटरसम्म दोस्रो खण्ड र १८ किलोमिटरदेखि २९.७ किलोमिटरसम्म तेस्रो खण्ड बनाएर सडक निर्माणको कार्य पूरा हुने छ ।
सासंद झपट बहादुर रावलको पहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको हुलाकी सडक निर्देशनालयले लम्की–टीकापुर–खक्रौला सडकको पहिलो खण्ड आठ किलोमिटर(लम्की देखि टीकापुर तर्फ) का लागि २०७६ मंसिर २७ गते १ अर्ब ९५ करोड रुपैयाँको टेन्डर आह्वान गरेको थियो ।
पहिलो खण्ड सडक निर्माणका लागि लागि कालिका कुमार जेभी काठमाण्डौले ०७७ साल जेठ २८ गते रु. ४० करोड, १९ लाख, ९१ हजार ६१६ मा ठेक्का पाएर काम सुरु गरेको हो ।