इप्रका लम्कीको पालिका समितिको बैठक ः प्रहरीको भूमिका कमजोर भएको जनप्रतिनिधिको आरोप
एजेन्सी | २०७८ पौस ११ गते १६:०२ मा प्रकाशित
लम्की । आइतबार इलाका प्रहरी कार्यालय लम्कीले आयोजना गरेको समुदाय–प्रहरी साझेदारी पालिका समिति बैठकमा जनप्रतिनिधिहरुले शान्ति सुरक्षा कायम राख्नमा प्रहरीको भूमिका कमजोर भएको आरोप लगाएका छन् ।
लागूऔषधको प्रयोग र आपराधिक घटनाहरुका विषयमा प्रहरीको भूमिका कमजोर रहेको जनप्रतिनिधिले अरोप लगाएका हुन् ।
समुदाय–प्रहरी साझेदारी पालिका समितिका संयोजक तथा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लागूऔषधमा प्रहरी भेदभावपूर्ण तरिकाले मुद्दा लगाएको दाबी गरे । ‘लागूऔषधका मुद्दाहरूमा कोही जेलमा नै छन् भने कोही जेल बाहिर छन् । यस्तो किन भयो भनेर न्यायाधीशलाई समेत सोध्दा प्रहरीले दर्ता गरेको मुद्दा अनुसार आफूहरूबाट फैसला भएको हो भन्ने जवाफ दिन्छन् ।’ नगर प्रमुख बजगाईले भने, ‘प्रहरीले मुद्धा दर्ता गर्दा कसैलाई ‘सेवनकर्ता’ र कसैलाई ‘विक्रेता’ को भनि मुद्धा दायर गर्ने रहेछन् । ‘‘मिलेको’’ अवस्थामा सेवनकर्ताको मुद्दा बनाई सहज बनाईदिने र न ‘‘मिलेको’’ अवस्थामा विक्रेता बनाई मुद्धा दर्ता गर्ने पाइएको छ । लागूऔषध पनि अपराधिक क्रियाकलापको जड हो ’
त्यस्तै नगर प्रमुख बजगाईले राजनीतिक दलहरुले अपराधिहरुको संरक्षण गरेको भन्ने आरोप सहि नभएको बताए । आफ्नो अध्यक्षता जेसिज हलमा सर्वदलिय बैठकबाट राजमार्ग बन्द तथा अपराधी संरक्षण गर्नेलाई कानुन अनुसारको कारवाही सामूहिक निर्णय भएको र त्यो निर्णयको जानकारी ईलाका प्रहरी देखि जिल्ला प्रशासन कार्यालयमा दिएको उनले भने । प्रहरीलाई राजनीति दल र नगरपालिकाबाट पूर्णरुपमा सहयोग भएपनि समाजमा शान्ति व्यवस्थामा कायम गर्न प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको नगर प्रमुख बजगाईको भनाई रहेको थियो ।
त्यस्तै समितिकी सह संयोजक तथा नगर उप प्रमुख टीका थापाले पनि लम्कीचुहा नगरपालिकामा लागूऔषध नियन्त्रण भएको दाबी झुटा रहेको बताइन् । ‘लागूऔषध नियन्त्रणमा प्रहरीले गरेको दाबी गलत छ । मेरो घर आसपासका क्षेत्रमा लागूऔषध बिक्री भइरहेको छ ।’ उनले भनिन् ।
लम्कीचुहा वडा नं ६ का अध्यक्ष नेत्र मगरले राजनीतिक दलका तर्फबाट सम्झौतामा भएका हस्ताक्षर इमान्दारिताका साथ पालना गर्नुपर्ने बताए । अपराध र अपराधी संरक्षणमा आफू पनि छौं की भन्ने सबैले सोच्नुपर्ने बताए ।
त्यस्तै सञ्चारकर्मीका तर्फबाट बोल्दै पत्रकार नवराज खनालले छोरीलाई ‘त कहाँबाट आइस्’ भनेर सोध्ने अभिभावकले छोरालाई समेत प्रश्न गर्नुपर्ने आवश्यकता रहेको बताए ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक भरत बहादुर शाहले लागूऔषधको मुद्दामा आफूहरु सचेत भएको दाबी गरे । ‘लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार मुद्दा लगाएका छौं । कानूनमा व्यवस्था भएको तीन बर्ष भन्दा कम सजाए पाएकाहरुले जमानतमा छुट्न सक्ने भएकाले केही अभियुक्त छुटेका हुन् ।’ प्रनि शाहले भने, ‘लापरवाही, प्रमाण नष्ट गरि लागूऔषधको मुद्दा दायर गरेको अवस्थामा प्रहरी माथिनै मुद्दा लाग्ने भएको हुँदा हामीले सचेताका साथ मुद्दा दायर गरेका छौं ।’
लम्कीचुहाको समुदाय–प्रहरी साझेदारी पालिका समितिको गठन २०७५ कार्तिक १४ गते भएको थियो । २५ सदस्यीय समितिले लम्कीचुहामा समाजमा शान्ति व्यवस्था कायम गर्नका लागि समितिको गठन गरिएको थियो । गठन भएयता पहिलो पटक समितिको बैठक आज आइतबार इप्रका लम्कीमा बसेको हो ।