कैलालीको लम्कीचुहामा सबैभन्दा बढि बसाइसरी आए
प्रिन्स बि.क | २०७८ मंसिर २० गते ०९:०२ मा प्रकाशित
लम्की । कैलालीमा लम्कीचुहामा सबैभन्दा बढि बसाइसरी आएका छन् । २०७७ फागुन १ गते देखि २०७८ असोज मसान्त सम्म लम्कीचुहा नगरपालिकामा तीन हजार ८ सय ९७ जना बसासरी आएका हुन् ।
जिल्लाको सदरमुकाम, सबैभन्दा ठूलो पालिका र एक मात्र उप–महानगरपालिकामा र प्रदेशकै स्थायी राजधानी तोकिएको गोदावरी नगरपालिकाको भन्दा लम्कीचुहामा बसाइसराई गरि आउने संख्या बढि रहेको छ । धनगढि उप–महानगरपालिकामा फागुन ०७७ देखि असोज मसान्त ०७८ सम्म बसाइसराई गरि आठ सय ९१ घरधुरीका दुई हजार सात सय पाँच जना आएका छन् भने गोदावरी नगरपालिकामा मात्र दुई सय ८७ जना बसाइसराई गरि आएका छन् । गोदावरी नगरपालिकामा भरिमा बसाइसरी आउनेको संख्या भन्दा लम्कीचुहा नगरपालिका वडा नं १ को धेरै रहेको छ । गोदावरमा बसाइसरी आउनेको संख्या दुई सय ८७ जना रहेको छ भने त्यही अवधिमा लम्कीचुहाको वडा नं १ मा एक हजार एक सय ८० जना बसाइसरी आएका छन् ।
लम्कीचुहा नगरपालिकाको कार्यालयले कैलाली पोष्टलाई उपलब्ध गराएको प्रतिवेदन अनुसार नगरपालिकाका वडा नं १ मा १ हजार एक सय ८० जना बसाइसरी आएका छन् । त्यस्तै वडा नं २ मा पाँच सय ५७ जना, वडा नं ३ मा पाँच सय ४९, वडा नं ४ मा तीन सय ८३ जना, वडा नं ५ मा एक सय ४६ जना, वडा नं ६ मा दुई सय ४३, वडा नं ७ मा एक सय ६५, वडा नं ८ मा तीन सय ४७, वडा नं ९ मा एक सय ८५ जना, आएका छन् भने वडा नं १० मा सबैभन्दा कम अर्थात वडा नं १ मा एक सय २१ जना बसाइसरी आएका छन् । त्यस्तै लम्कीचुहा नगरपालिकामा बसाइसराई जानेको तुलानमा आउनेको संख्या बढि छ । तीन हजार आठ सय ९७ जना बसाइसरी आएका छन् भने बसाइसराई गरि जानेको संख्या सात सय ४१ मात्र रहेको छ ।
लम्कीचुहाका मेयर महादेव बजगाई बसाइसरी आउनेको संख्या बढि हुनुको कारण लम्कीचुहाले गरेको विकास निर्माणको प्रगतिलाई मान्दछन् । ‘लम्कीचुहा नगरपालिकामा स्वास्थ्य सेवा देखि लिएर शिक्षा, खानेपानी, र भौतिक पूर्वाधारमा गरेको विकासका कारण लम्कीचुहा नगरपालिका प्रति आर्कषण बढ्दो छ । सुदूरपश्चिम प्रदेशभरिमा धनगढी पछि सबैभन्दा बढि वित्तिय संस्था रहेको लम्कीचुहा नगरपालिकाले आर्थिक समृद्धितर्फ अगाडी बढेकाले पनि लम्कीचुहामा बसाइसराई गरि आउनेको संख्या बढि रहेको छ ।’ मेयर बजगाईले भने ।
सेवा प्रवाहमा चुनौति
लम्कीचुहा नगरपालिकाको जनसंख्या पनि तिव्र गतिमा बढि रहेको छ । राष्ट्रिय जनगणना २०६८, अनुसार १४ हजार सात सय ७५ घरधुरी सहित कुल जनसंख्या ७५ हजार चार सय २५ रहेको लम्कीचुहा नगरपालिकामा २०७६ साल सम्म आइपुग्दा १८ हजार चार सय नौ घरधुरी सहित एक लाख दुई हजार तीन सय ८० पुगेको नगरपालिकाको पाश्र्व चित्र २०७६ मा उल्लेख छ । त्यस्तै ०७७ फागुन देखि ०७८ असोज मसान्त सम्म लम्कीचुहा नगरपालिकामा तीन हजार नौ सय नवजात शिशुले जन्म दिएका छन् । आठ महिनाको अवधीमा लम्कीचुहा नगरपालिकामा करिब १० हजार थपिएका छन् भने बसाइसरी जाने र मृत्यु हुनेको संख्या एक हजार भन्दा कम रहेको तथ्यांकले देखाउँछ । एकतर्फ नगरपालिकामा रहेका सिमित स्रोत साधन, कम रोजगारीका अवसर र जनशक्ती अभावको समस्या रहेको छ भने अर्को तर्फ जनसंख्या उल्लेखनीय रुपमा बृद्धि भईरहेको छ । जस्को प्रत्यक्ष असर नगरपालिकाको सार्वजनिक सेवा प्रवाहमा समेत परेको छ । ‘नगरपालिबाट सामान्य तथ्यांक सकंलन गर्नुपर्ने भएमा पनि वडामा हप्ता दिन भन्दा बढि सम्म भिड लाग्ने गर्दछ । भिडका कारणले वडा कार्यालयाट नियमित गर्नु पर्ने कार्यहरु प्रभावित बन्दछन् । र, सेवाग्राहीहरु समस्या पर्दछन् ।’ वडा नं १ का जनक बहादुर बम बताउँछन् ।
त्यस्तै बढ््दो जनसंख्याले समाजमा रहेका हरेक क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । समाजमा शान्ति सुरक्षा देखि लिएर प्राकृतिक स्रोत साधान सम्म प्रभाव पार्ने गरेको छ । यसलाई व्यवस्थापन गर्नका लागि सम्बन्धीत पक्ष समयमा सर्तकता र तयारी अपाउन जरुरी रहेको सरोकारवाला बताउँछन् ।