लम्कीचुहामा किसानको बिरोध र्याली
एजेन्सी | २०७९ जेठ ३१ गते १७:२३ मा प्रकाशित
अक्षर सारथी
कैलालीको लम्कीचुहा नगरपालिकाका किसानहरुले बिरोध रयाली निकालेका छन् ।
सोमबार धानमा उपलब्ध गराउने राहत रकमको विषयलाई लिएर लम्कीचुहाका किसानहरुले बिरोध ¥याली निकालेका हुन् ।
¥यालीमा राप्रपाबाट नगर प्रमुखका उम्मेदवार मदनराज उपाध्याय, नागरिक उन्मुक्ति पार्टीबाट नगर प्रमुखका उम्मेदवार महेन्द्र उपाध्याय, स्वतन्त्रबाट नगर उप प्रमुखका उम्मेदवार पुष्पा शाही लगायतको सहभागिता रहेको थियो । सहभागि किसानहरुले जनप्रतिनिधि लगायत सबैलाई किसानले पाल्ने तर, अरुलाई पाल्ने किसान माथि नै अन्याय भएको बताएका थिए ।
उनीहरुले ‘भिख हामीलाई चाहिँदैन्, किसान मार्न पाइदैन’ भन्ने नारा लगाउँदै लम्कीचुहा नगर प्रमुखको कार्यकक्षमा ब्यानर सहित प्रवेश गरेका थिए ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुखको उम्मेदवार रहेका महेन्द्र उपाध्यायले सरकारले एकतर्फ जग्गा बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने नीति छ भने अर्कोतर्फ किसानलाई एक कठ्ठा बिउँको ७५ रुपैयाँ दिन्छ यो कस्तो खाल्को नीति हो भन्दै सरकारले किसानलाई त गरिब होस् तैँले बोल्न पाइदैन त मर भनेको बताए ।
त्यस्तै राप्रपाबाट नगर प्रमुख उम्मेदवार रहेका मदनराज उपाध्यायले एक कठ्ठामा चार क्विन्टल सम्म धान उत्पादन गर्न सकिने बताउँदै चार क्विन्टलको बिउँ ७५ आउँछ भन्दै प्रश्न गरेका थिए ।
स्वतन्त्रबाट नगर उप प्रमुखका उम्मेदवार पुष्पा शाहीले आफूहरुको माग सम्बोधन नभएको खण्डमा विरोध कार्यक्रममलाई थप सशक्त बनाउने बताइन् ।
लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीेले किसानहरुको माग पत्र बुझ्दै यो निर्णय पूर्व जनप्रतिनिधिहरुले गरेको भएका कारण आफूले यसमा परिर्वतन गर्न नसकिने बताउँदै आगामी नीति तथा कार्यक्रममा समेट्ने बताईन् ।
गएको कार्तिक पहिलो साता भएको अविरल मौसमले धानबालीमा ठूलो क्षति पुर्याएको थियो । देशभरीमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको बालीमा असर गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी थियो । मन्त्रालयका अनुसार उक्त परिमाण धानबाट ८ अर्ब २६ करोड ८० लाख क्षति भएको बताएको थियो । वर्षाले सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको थियो । उक्त प्रदेशमा ९३ हजार पाँच सय ७६ हेक्टरको धानबाली क्षति भएको थियो । सुदूरपश्चिमका ५५ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानमा असर पुगेको थियो । विशेषगरि कैलाली र कञ्चनपुरमा बढी क्षति भएको थियो । त्यस लगत्तै मंसिर २ गतेको मन्त्रिपरिषद्को बैठकले बेमौसमी वर्षाको कारण धानवालीमा क्षति पुगेको किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८, स्वीकृत गर्दै किसानलाई राहत वितरण गर्ने निर्णय गरेको थियो ।
सरकारले प्रति कठ्ठा पाँच सय ९१ देखि १९ सय २१ सम्म अनुमान गरेको थियो । तर, लम्कीचुहा नगरपालिकाले यहि जेठ २६ गते एक सूचना प्रकाशन गर्दै ७५ देखि तीन सय १५ सम्म दिने उल्लेख गरे पछि चौतर्फी आलोचना भएको थियो । लम्कीचुहाका किसान यही कुरालाई लिएर आन्दोलित भएका हुन् ।