समाचार
कैलालीको सामुदायिक वनमा मृत चितुवा फेला
अक्षर साथी | २०८१ फाल्गुन १ गते १४:४१ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको महिला जागरण सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रको डुडेझारीमा एक बयस्क चितुवा मृत अवस्थामा फेला परेको छ ।
दिउँसो सामुदायिक वनमा घाँसे मैदान सफा गर्ने क्रममा वन हेरालु धर्म घिमिरे र गंगाराम नाथले गन्हाएको महसुस गरेपछि चितुवा फेलापार्नु भएको थियो । चितुवाको शरीरमा किरा परिसकेको र निकै दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको उहाँहरूले बताउनुभयो ।
सामुदायिक वनकी अध्यक्ष जल्पादेवी विष्टले घटनाबारे जानकारी पाएपछि सबडिभिजन वन कार्यालय, लम्कीलाई खबर गरिएको बताउनुभयो ।
वन हेरालु नाथका अनुसार उक्त सामुदायिक वन क्षेत्रमा यसअघि तीन पाटेबाघ र दुई चितुवा देखिएका थिए । ती वन्यजन्तुहरू गाउँतर्फ पसेर बाख्रा तथा कुकुर समेत आक्रमण गर्ने गरेको स्थानीयको भनाई रहेको छ ।
हाल सबडिभिजन वन कार्यालय, लम्कीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।