समाचार
राजसंस्था वैधानिक तरिकाले बाहिरिएको थिएन : सासंद शाही
प्रशासक | २०८१ फाल्गुन १९ गते १२:१५ मा प्रकाशित
अक्षर साथी लम्की, फागुन १९ गते । सासंद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजसंस्था वैधानिक तरिकाले नबाहिरिएको बताएका छन् ।
सोमबार लम्कीको चन्द्रमौलेश्वर मन्दिरमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सासंद शाहीले तत्कालीन अवस्था राजसंस्थालाई जनमत सङ्ग्रह र आन्दोलनबाट नहाटाएर समानुपातिकमा परेका, आफ्नो नामनै लेख्न नसक्ने, ससंदमा सुर्ती पटकाउनेलेहरूले राजसंस्थालाई अवैधानिक तरिकाले हटाइएको बताएका हुन् ।
‘राजसंस्था अहिले अगाडि आइरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु र हिन्दुत्वमा के कस्ता योजना रहेको छ’ भन्ने सहभागीको प्रश्नमा जवाफ दिदै सासंद शाहीले भने, ‘अहिले १० वर्ष पहिलेको भन्दा अहिले अवस्थामा धेरै फरक भइसकेको छ । जनताले आफ्नो धर्म संस्कृति चाहिन्छ, यसलाई बचाउनु पर्छ भन्ने बुझिसकेका छन् ।,’ सासंद शाहीले भने, ‘हाम्रो नेतृत्व भ्रष्ट्राचारको विरुद्ध, हिन्दु राष्ट्र ल्याउने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ल्याउने र राजासहितको प्रजातन्त्रको कुरामा स्पष्ट रहेका छ । यसमा कसैले शङ्का गर्नुपर्दैन ।’
त्यस्तै सासंद शाहीले राजसंस्था सहितको हिन्दु राष्ट्र चाँडै स्थापना हुने बताएका छन् । ‘नेताहरूको नीतिका कारण र जनताले पनि राजसंस्थाको महसुस गरेका कारण राजसंस्था सहितको हिन्दु राष्ट्र चाँडै स्थापना हुन्छ’ उनको भनाई थियो ।