नयाँ पात्रोसँगै नयाँ आशा: जीवनस्तर उकास्ने विश्वासमा लम्कीचुहाका जनता
अक्षर साथी | २०८२ बैसाख २ गते १२:२६ मा प्रकाशित
अक्षर साथी
लम्की / वैशाख २
घरको भित्तामा नयाँ पात्रो टाँगिएको छ। पात्रो फेरिएसँगै २०८२ सालको सुरुआत पनि भएको छ। लम्कीचुहाका जनतामा अहिले यही पात्रोसँगै आफ्नो जीवनस्तर पनि फेरिने गहिरो आशा पलाएको छ । नगरपालिकामा सञ्चालित विभिन्न योजना र कार्यक्रमहरूले जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास जनताले गरेका छन् । जालपादेवी केबलकार, मोहनलाल नगर उद्यान, ५० शैय्याको प्रादेशिक अस्पताल, लम्कीचुहा अस्पतालमा थपिएको विशेषज्ञ सेवा, स्वरोजगारमुखी तालिम, नालासहितको कालोपत्रे बाटो लगायतका नगरपालिकाले सञ्चालनमा ल्याएका विकासका योजना र सेवामूलक कार्यक्रमहरूले जनतामा जीवनस्तर उकासिने विश्वास दिलाएको छ ।
‘गतिलो अस्पताल र विशेषज्ञको अभावमा हामीले नेपालगञ्जदेखि भारतका विभिन्न सहरसम्म पुग्नुपर्ने बाध्यता थियो । तर, अहिले लम्कीचुहा अस्पताल भल्काबाटै विशेषज्ञ सेवा पाइरहेका छौं । यसले हामीलाई धेरै राहत महसुस गराएको छ,’ लम्कीचुहा–२ का ४२ वर्षीय देशराज चौधरीले भने ।
०७६ चैतमा नगरपालिकाले भल्कामा रहेको बलिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै सुविधायुक्त १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएको थियो । अहिले यो अस्पतालबाट ओपीडी सेवा, २४ सै घण्टा इमर्जेन्सी सेवा, माइनर अपरेशन, होल बडी चेकअप, ल्याब सेवासहित स्थानीयलाई सहज स्वास्थ्य सेवा दिइरहेको सदस्य सचिव गंगाराम उपाध्याय बताउँछन् । लम्कीचुहा–१०, चुहामा ५० शैय्याको १९ करोड ५२ लाख ६९ हजार १ सय ४८ रुपैयाँको थप लगानीसहित प्रादेशिक अस्पतालको निर्माणको काम पनि जारी रहेको जानकारी उपाध्यायले दिए ।
त्यस्तै, बिरामीको चापलाई मध्यनजर गर्दै लम्कीचुहा अस्पताल भल्काको स्तरोन्नति गरी २५ शैय्याको अस्पताल सञ्चालन गर्ने उद्देश्यले नयाँ भवन निर्माणको काम पनि भइरहेको छ। नयाँ भवन निर्माण भएपछि बिरामीलाई सेवा दिन सहज हुने उनको भनाइ छ । बहुवर्षीय ठेक्कामा निर्माण हुन लागेको भवनको लागत अनुमानित १४ करोड रुपैयाँमध्ये मालिकामस्टा बेतालमाडौँ कन्स्ट्रक्सनले २ करोड २७ लाख २१ हजार रुपैयाँमा पहिलो चरणको निर्माण कार्य गरिरहेको नगर प्रमुख सुशीला शाही बताउँछिन् । व्यवस्थापक जयन्द्र प्रसाद जैसीका अनुसार लम्कीचुहा अस्पताल भल्काबाट दैनिक तीनदेखि चार सय बिरामी उपचार गराइरहेका छन्।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउँदै लम्कीचुहाका जनताको आयआर्जनमा वृद्धि गर्ने उद्देश्य रहेको नगर गौरवको योजना मोहनलाल नगर उद्यान वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ। लम्कीचुहा–२ र ५ मा पर्ने नगर उद्यानको कुल लागत ९४ करोड रुपैयाँ रहेको छ। ७० प्रतिशत संघीय सरकार र बाँकी ३० प्रतिशत स्थानीय सरकारको लगानी रहनेछ । ६ किलोमिटर तारजालीसहितको घेरापर्खाल र चारवटा प्रवेशद्वार निर्माण भइसकेका छन् । खुला स्थान, ध्यान केन्द्र, नौका विहार, खेलमैदान, पोखरी लगायत नगर उद्यानमा विभिन्न संरचना निर्माणका लागि ५५ रुख कटानको आदेशको आवश्यकता थियो । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको लागि ३० लाख बजेटको व्यवस्था गरिएको र उक्त प्रतिवेदन अन्तिम चरणमा पुगेको जानकारी नगर प्रमुख शाहीले दिइन् ।
नगर उद्यान सञ्चालनमा आएमा यस क्षेत्रका जनताको आयआर्जनमा वृद्धि हुने उपाध्यक्ष भीम प्रसाद जैसी बताउँछन् । ‘बजेटको व्यवस्थापनमा समस्या नआएमा नगर उद्यानमा आवश्यक भौतिक संरचना निर्माण गरी अबको २ वर्षमा सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले भने, ‘सञ्चालनमा आएपछि आन्तरिक र बाह्य पर्यटकको आगमन हुने छ, व्यापार व्यवसायमा वृद्धि हुनेछ, स्थानीयले रोजगारी र स्वरोजगारको अवसर प्राप्त गर्नेछन् ।’
‘नगर उद्यान छिट्टै सञ्चालनमा आओस् भन्ने हाम्रो चाहना छ। पर्यटकको आगमनले हामीलाई रोजगारीको अवसर दिनेछ। पार्क सञ्चालन हुने भएपछि मनमा आशा पलाएको छ,’ लम्कीचुहा–५ का ३२ वर्षीय सुरेश सञ्ज्यालले भने।
त्यस्तै, लम्कीचुहाको चिसापानीमा ३१०० मिटरको केबलकार योजनाको शिलान्यास भई निर्माणको काम सुरु भइसकेको छ। निर्माण सुरु भएको २ वर्षमा सञ्चालनमा आउने दाबी निर्माण कम्पनीको छ। कुल पाँच अर्ब रुपैयाँ लगानी हुने यस योजनाको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, बैंक्वेट हल र टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वाकिङ ट्रेल, रेस्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ। केवलकार सञ्चालन भएपश्चात भारतबाट पनि उल्लेखनीय संख्यामा पर्यटक आउने अपेक्षाले चिसापानीका होटल व्यवसायी उत्साहित छन्।
‘चिसापानीका हामी होटल व्यवसायी कोरोनाकालदेखि निराश थियौं। मनोरम दृश्य भएको चिसापानी बजार सिथिल अवस्थामा थियो,’ डल्फिन होटलका सञ्चालक पदम भण्डारीले भने, ‘केवलकार सञ्चालनमा आएपछि दैनिक १० हजार पर्यटक आउने अपेक्षा गरेका छौं। धेरैजसो भारतीय पर्यटक हुनेछन्। जसको फाइदा हामी होटल व्यवसायीलाई हुनेछ।’
त्यस्तै, लम्कीचुहाले उद्यम विकास सेवा केन्द्र र रोजगार शाखाबाट विभिन्न तालिमको आयोजना गर्दै जनताको आम्दानी वृद्धि र स्वरोजगारमा योगदान गरिरहेको छ। रोजगार शाखाले ४० जनालाई ५० दिनको प्लम्बिङ र इलेक्ट्रीसियन सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिइरहेको छ। तालिमबाट धेरैले सीप सिकेर आयआर्जन गर्न थालेका छन् ।
‘मैले प्लम्बिङ तालिम लिएको छु। तालिमबाट मेरो सीपको विकास भएको छ,’ लम्कीचुहा–१०, सुतैयाका ३७ वर्षीय गणेश नेपालीले भने, ‘यत्तिका वर्ष बेरोजगार थिए। अब सीप सिकेपछि आफैँ आम्दानी गर्न सक्षम भएको छु।’
एकता शिविरका महिलाहरू पनि अचार बनाउन सिपालु भएका छन् । नगरपालिकाको उद्यम विकास सेवा केन्द्रबाट १० दिने सीप स्तरोन्नति तालिम लिएपछि उनीहरूले अचार व्यवसाय गर्न थालेका हुन् ।
‘घरको अचार बनाउने तरिका र तालिमको तरिका फरक छ। तालिमको तरिका राम्रो लाग्यो,’ एकता नगर शिविरकी ३४ वर्षीया सुदामा चौधरीले भनिन्, ‘तालिमबाट तेल, मसाला र मिश्रणको मात्रा सिकेकी छु। अहिले म राम्रो अचार बनाउन सक्छु।’
यसैगरी, लम्कीचुहाको रोजगार शाखामा दर्ता भएका ३ हजार ७८६ जनामध्ये प्राथमिकतामा परेकालाई एक दिनको ६६८ रुपैयाँ दरले १०० दिनको रोजगारीको ग्यारेन्टी गरिएको छ। सूचीकृत बेरोजगारहरू विकास निर्माणमा काम गर्दै १०० दिनको लागि रोजगार पाएका छन्।
‘म नगरपालिकाको रोजगार शाखामा सूचीकृत थिएँ,’ लम्कीचुहा–२, बघौराकी लक्ष्मी बिकले भनिन्, ‘गाउँघरमा भइरहेका काममा काम गर्न बोलाउँछन्। दिनको ६६८ रुपैयाँको दरले ज्याला पाउँछौं।’
लम्कीचुहामा शुद्ध खानेपानी पु-याउन विभिन्न योजना सञ्चालनमा छन् । वडा स्तरमा खानेपानीका योजना चलिरहेका छन् भने मुख्यतः लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था मार्फत कर्णाली नदीको पानी ल्याउने योजना सञ्चालनमा छ । संघीय सरकार ७५ प्रतिशत, खानेपानी संस्था २० प्रतिशत र स्थानीय सरकार प्रतिशतको लागत साझेदारीमा १४ करोड ७७ लाखको बजेटबाट बल्चौरमा कुवा, ४.५ लाख लिटर क्षमताको रिजर्भ ट्यांकी, पाइपलाइन विस्तार र ओभरहेड ट्यांकीको निर्माण कार्य भइरहेको छ। दोस्रो ठेक्काको आह्वान भइसकेको जानकारी अध्यक्ष तेज बहादुर चलाउनेले दिए।
‘पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ चुरेको फेद क्षेत्रमा नलबाट पानी आउँदैन । खोलाको पानी शुद्ध हुँदैन,’ लम्कीचुहा–४ अम्मरपुरकी ३५ वर्षीया विमला भाटले भनिन्, ‘कर्णाली पानी अम्मरपुरमा आउने भएपछि दुःखका दिन फेरिने आशा पलाएको छ ।’
राष्ट्रिय जनगणना, २०७८ अनुसार लम्कीचुहामा कुल २० हजार ४१२ घरधुरी छन्, जसको ६० प्रतिशत ले अझै पनि ट्युबेल र नलका प्रयोग गर्छन् ।
नगरपालिकामा सडक कालोपत्रे, नाला निर्माणका काम भइरहेका छन् । वडा नं. १ र २ मा नालासहित कालोपत्रे सडक बनिरहेका छन् । बाँकी ८ वडामा पनि यस्ता काम जारी छन् ।
‘कालोपत्रे सडकले आवतजावतमा सहजता भएको छ । साइकलबाट गाउँगाउँ तरकारी बेच्न जान सजिलो भएको छ,’ लम्कीचुहा–१, थपालीपुरका सुरेश रोकाले भने, ‘दशैँ वडामा तरकारी पुर्याउन सकिन्छ भन्ने खबरले खुशी लागेको छ ।’
यी योजनाले जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास भए पनि काम समयमै नसकिने चिन्ता उत्तिकै छ ।
‘थुप्रै कामहरू सञ्चालनमा छन्। समयमै सम्पन्न भएमा राम्रो नतिजा आउँछ। तर विगतका अनुभवले ढिलाइ हुने हो कि भन्ने चिन्ता छ,’ लम्कीचुहा–७ का कमल कडायतले भने ।
पूर्व वडाध्यक्ष भक्त चौलाउने भन्छन्, ‘सुरुआत त भव्य हुन्छ, तर अनुगमन र कार्यान्वयनमा कमजोरी हुन्छ। गुणस्तर र समयसीमा दुवैमा ध्यान दिए मात्र जनताको आशा पूरा हुन्छ ।’
यस्तै पूर्व वडा अध्यक्ष चलाउने योजना समयमै सम्पन्न गर्नको लागि पालिकाले कात्र्तिक महिनासम्म लागत अनुमान गर्ने, सम्झौता गर्ने र कार्य आदेश दिनेको काम गरिसक्नु पर्ने बताउँछन् ।
लम्कीचुहामा हाल सञ्चालनमा रहेका योजनाले स्वास्थ्य, पूर्वाधार, पर्यटन र स्वरोजगार क्षेत्रमा सकारात्मक संकेत दिएका छन्। यिनलाई समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न सके, लम्कीचुहा आर्थिक, सामाजिक र जीवनस्तरको दृष्टिले उदाहरणीय नगर बन्न सक्छ।