समाचार
लम्कीचुहामा डुबेर मृत्यु हुनेको संख्या १७ : सिँचाइको नहरमै अस्ताए ४ बालबालिका
अक्षर साथी | २०८२ बैसाख २ गते १७:१९ मा प्रकाशित
अक्षर साथी
लम्कीचुहा, बैशाख २, नयाँ वर्षको उल्लासमय अवसरमा लम्कीचुहा–३ स्थित बादी बस्ती एकाएक शोकमग्न बन्न पुग्यो । बल्चौर बस्ने दीर्घ बादीकी ९ वर्षीया छोरी खुशी वादी सोमबार अर्थात नयाँ वर्षको दिनमै बेपत्ता भएकी थिइन् ।
‘मेहन्दी किन्छु’ भन्दै आमासँग पैसा मागेर घरबाट निस्केकी खुशी नहरमा नुहाउन गएका एक बालक डुब्न थालेको देखेर उनलाई बचाउन हामफालेकी थिइन् । ती बालकलाई जोगाउन सफल भएकी १० वर्षिय खुशी भने आफैं पानीमा बगिन् । सोमबार दिउँसो १ बजे वेपत्ता भएकी उनको शव मंगलबार बिहान जानकी गाउँपालिका–९ स्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अमरावती नहरमा फेला परेको हो ।
कक्षा ५ मा अध्ययनरत खुशीको मृत्यु कुनै एकल घटना होइन । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार पछिल्ला तीन वर्षमा लम्कीचुहा नगर क्षेत्रमा डुबेर मृत्यु हुनेको संख्या १७ पुगेको छ, जसमा ४ जना बालबालिका छन् । तीमध्ये ४ जनाको मृत्यु रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कुलोमा भएको हो ।
प्रहरीका अनुसार गर्मीयाममा बालबालिका नुहाउन नहर, खोलानाला र कुलोतर्फ जाने गर्छन् । त्यसमाथि अभिभावकीय निगरानीको कमी, खेलमैदानको अभाव, र सुरक्षा संरचनाको नहुँदा डुबेर मृत्युका घटनाहरू बढेका छन् ।
‘बालबालिकाले अभिभावकलाई नबताई खोलानाला पुग्ने गर्छन्। गर्मीमा यस्तो जोखिम झनै बढ्ने हुँदा सचेत हुन जरुरी छ,’ प्रहरी निरीक्षक लोकेन्द्र सिंह बताउँछन् ।
डुबेर मृत्यु हुने घटना सबैभन्दा धेरै लम्कीचुहा–३ मा हुने गरेको वडाध्यक्ष लवबहादुर शाही बताउँछन् । उनका अनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गरेर तारजालीको लागत अनुमान तयार भइसकेको र केही दिनभित्र सुरु हुने जानकारी दिएका छन् ।