समाचार
लम्कीचुहामा विपद् पूर्व तयारी सम्बन्धी कार्यक्रम सम्पन्न
अक्षर साथी | २०८२ आषाढ़ १६ गते १६:४७ मा प्रकाशित
अक्षर साथी
लम्की/असार १६
कैलालीको लम्कीचुहा नगरपालिकामा विपद् पूर्व तयारी कार्यक्रम सम्पन्न भएको छ। सोमबार लम्कीचुहा नगरपालिकाको सभा हल भल्कामा विपद्को क्षति न्यूनीकरणका लागि विपद्को पूर्व तयारी सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर विपद् समितिका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि, गेज रिडर, अग्नि नियन्त्रक, वडा विपद् व्यवस्थापन समितिका पदाधिकारी, नगरपालिकाका शाखा प्रमुखहरू र नगर प्रहरीको सहभागिता रहेको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै नगर प्रमुख शाहीले लम्कीचुहा नगरपालिकाले विपद्पछिको प्रतिकार्यभन्दा पनि विपद्को पूर्व तयारीमा ध्यान दिएको बताइन्।
'विपद् नआउनु सुखद् कुरा हो, तर पनि विपद्का विषयमा हामीले पूर्व तयारी गरेको अवस्थामा क्षति न्यूनीकरण गर्न सकिन्छ,' नगर प्रमुख शाहीले भनिन्, 'लम्कीचुहा नगरपालिकाले विपद्पछि प्रतिकार्यभन्दा पनि विपद्को पूर्व तयारीमा बढी ध्यान दिने गरेको छ। त्यसरी नै नगर विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समितिलाई तयार राखिएको छ। सूचना प्रणालीको विकास पनि गरिएको छ।'
त्यस्तै, शाहीले नगरपालिकाले विपद् व्यवस्थापनका लागि ५० लाख रुपैयाँ नगरपालिका र प्रत्येक वडा कार्यालयबाट २ लाखका दरले बजेट विनियोजन गरेको जानकारी दिइन्।
कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक झक्कु प्रसाद शर्माले विपद्को विभिन्न आयामका विषयमा सहभागीलाई जानकारी गराएका थिए भने नगरपालिकाका जीवन न्यौपानेले नगरपालिकामा विपद् सम्बन्धी बनेका ऐन, नियम तथा गरिएका कार्यहरूको बारेमा जानकारी गराएका थिए। विपद् व्यवस्थापन शाखाका मनिराम खनालका अनुसार, विपद्को न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको बताए।
कार्यक्रमको सञ्चालन भने प्रकाश धमालाले गरेका थिए।