समाचार
जन्मदर्ता लगायतमा भएका त्रुटी सच्याउने पाइने
अक्षर साथी | २०८२ श्रावण १८ गते ११:३० मा प्रकाशित
अक्षर साथी
लम्की/साउन, १७
प्रचलित नेपाल ऐनमा समसामयिक सुधार गर्न सरकारले केही नेपाल ऐनलाई संशोधन गरेपछि एकपटकका लागि व्यक्तिगत घटनाका विवरण सच्याउन पाइने भएको छ ।
नेपाल ऐन संसोधन गर्ने ऐन, २०८२ राजपत्रमा प्रकाशन भई प्रमाणिकरण भएसँगै व्यक्तिगत घटना प्रमाण पत्रमा भएका त्रुटी एक पटकका लागि सच्याउन पाउने अवसर पाइने भएको हो ।
लम्कीचुहा नगरपालिका वडा नं. ८ का वडा सचिव राजेन्द्र चौधरीका अनुसार जन्म, विवाह, बसाइसराई, सम्बन्ध विच्छेद र मृत्यु दर्ता प्रमाण पत्रमा भएको त्रुटीलाई वैधानिक कारणका आधारमा एक पटकका लागि सच्याउन सकिने जानकारी दिए ।
ऐन जारी भएपछि उमेरका कारण नपुगेर एसईई दिन नपाएका विद्यार्थीहरूलाई सहज हुने राहत भएको छ ।
‘अहिलेको ठूलो समस्या भनेको विद्यार्थीहरूलाई थियो । एसईई दिन १४ वर्षको उमेर तोकिदिएपछि विद्यार्थीहरू एसईई दिनबाट बन्चित हुने अवस्था सिर्जना भएको थियो,’ वडा सचिव राजेन्द्र चौधरीले भने, ‘संसोधन गर्ने ऐन आएपछि विद्यार्थीहरूलाई राहत भएको छ । आफ्नो व्यक्तीगत घटनामा त्रुटी भएका विवरण एक पटक सच्याउन पाउने छन् ।’
विधार्थीले आफूहरूलाई ऐनले राहत दिलाएको प्रतिक्रिया दिएका छन् ।
लम्कीचुहा–५ की कक्षा १० मा अध्ययनरत छात्रा अनु चौधरी भन्छिन्, ‘मेरो जन्म मितिमा त्रुटी भएका कारण म एसईई फर्म भर्न पाउने कि नपाउने भन्ने चिन्ता थियो । अहिले सरकारको यो निर्णयले हामी जस्ता विद्यार्थीलाई ठूलो राहत मिलेको छ ।’