समाचार
कैलालीमा सेकुवा सेन्टरभित्रै किशोरीको चक्कु प्रहार गरी हत्या
प्रशासक | २०८२ श्रावण १८ गते १२:४० मा प्रकाशित
अक्षर साथी
लम्की, साउन १७
कैलालीको बर्दगोरिया गाउँपालिकामा एक सेकुवा सेन्टरमा कार्यरत किशोरीको चक्कु प्रहार गरी हत्या गरिएको छ ।
बर्दगोरिया–१ मा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम गर्दै आएकी बर्दगोरिया–३ की १७ वर्षीया याचना सेजवालमाथि शनिबार बिहान चक्कु प्रहार भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार बिहान करीब १० बजेतिर सोही सेन्टरमा कार्यरत ३३ वर्षीय नृप साउदले सेजवालमाथि चक्कु प्रहार गरेका थिए।
गम्भीर घाइते भएकी सेजवाललाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सेजवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। घटनापछि आरोपी साउदलाई नियन्त्रणमा लिइएको छ भने चक्कु प्रहारको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।