स्थानीय हाट बजारले कारोबारसँगै संस्कृतिको संरक्षण गर्दै
अक्षर साथी | २०८२ भाद्र १२ गते १३:२२ मा प्रकाशित
अक्षर साथी
लम्की/भदौ १२
हाट बजार भन्नासाथ हाम्रो मनमा एउटा परिचित दृश्य आउँछ—गाउँघरका मानिसहरू टोकरीमा तरकारी, अन्न, फलफूल र घरायसी सामग्री बोकेर खुला चौरमा जम्मा हुने, किनमेल गर्ने, गफगाफ गर्ने माहोल । बजारभन्दा सस्तो, ताजा र शुद्ध सामान पाइने ठाउँ भनेकै हाट बजार हो भन्ने बुझाइ प्रायः सबैको हुन्छ । तर, लम्कीचुहाका हाट बजारहरू केवल कारोबारको थलो मात्र होइनन्, यी बजारहरूले स्थानीय संस्कृति संरक्षणको सशक्त माध्यमको रूपमा पनि काम गरिरहेका छन् ।
लम्कीचुहा नगरपालिकाभित्र हप्ताको छ दिन फरक–फरक स्थानमा हाट बजार लाग्ने परम्परा छ । हरेक दिन निश्चित स्थानमा लाग्ने हाट बजारले स्थानीय किसान, व्यापारी र उपभोक्तालाई नियमित रूपमा कारोबार गर्ने अवसर प्रदान गरेको छ । साना किसानदेखि खुद्रा व्यापारीसम्मले आफ्ना उत्पादनहरू सीधै उपभोक्तासमक्ष पु¥याउन देडा सहितको हाट बजारले सजिलो बनाएको छ ।
लम्कीचुहा–७ का किसान हरिप्रसाद चौधरी भन्छन्, “म तरकारी खेती गर्दै आएको छु । पहिले तरकारी बेच्न व्यापारीकोमा धाउनुपथ्र्यो, तर अहिले नियमित हाट बजार लाग्ने भएको छ । साँझ देउडा हेर्न आउनेहरू फर्कंदा तरकारी लिएर जाने गर्छन्, जसले गर्दा बेच्न निकै सजिलो भएको छ ।”
यी हाट बजारहरूमा सांस्कृतिक गतिविधिको रूपमा देउडा गीत गाउने परम्परा पनि बलियो बन्दै गएको छ । २०७६ सालमा लम्कीचुहा–८ स्थित गप्का खोलाको किनारमा बृहत गप्का टोल सुधार समितिले प्रत्येक शनिवार हाट बजार सुरु गरेसँगै देउडा गीतसहितको कार्यक्रमको थालनी गरिएको थियो ।
“सुरुमा हामीले हाट बजारमा देउडा खेल लागाउनु पर्छ भन्ने सोच राख्यौं,“ समितिका अध्यक्ष नरेन्द्र शाही भन्छन्, “पहिलोपटक गप्कामा देउडा आयोजना गरेपछि यो अभ्यास लम्कीचुहाका अन्य वडाहरूमा पनि विस्तार हुँदै गएको हो । अहिले त आइतवार बाहेक हरेक दिन कुनै न कुनै ठाउँमा देउडासहित हाट बजार लाग्ने गरेको छ ।’’
हाट बजारमा देउडा खेलको निरन्तर अभ्यासले सुदूरपश्चिमको मौलिक कला, भाषा र संस्कृतिको संरक्षणलाई नयाँ गति दिएको वडा नं. ६ का अध्यक्ष लाकेन्द्र कठायत बताउँछन् । “पहिले घरभित्र सिमित यो परम्परा अहिले सार्वजनिक चौरमा गुञ्जिने थालेको छ,” उनले भने, “युवाहरूले पनि परम्परागत लय र शैलीमा आधारित देउडालाई आत्मसात गर्न थालेका छन् । यसले सांस्कृतिक पुस्तान्तरणमा निकै सहयोग पुगेको छ ।”
देउडा कलाकारहरूको पारिश्रमिक भने सामान बिक्री गर्ने व्यापारीबाट संकलन गरिने रकमबाट व्यहोर्ने गरिन्छ, जसले कार्यक्रमलाई दिगो बनाउन सहयोग पु¥याएको छ । यद्यपि, अन्य व्यवस्थापन खर्च भने आयोजक समितिका लागि चुनौती बनिरहेको छ ।
“हामीले हाट बजारमा देउडाको आयोजना गर्दै केवल मनोरञ्जन होइन, कला–संस्कृतिको संरक्षणसँगै व्यापार तथा रोजगारीमा पनि टेवा पु¥याएका छौँ,“ अध्यक्ष शाही भन्छन्, “प्रत्यक्षरूपमा ५ सय जना भन्दा बढी मानिसले रोजगारी पाएका छन् । स्थानीय उत्पादनको बिक्री बढेको छ, बजारमा रौनक आएको छ । तर, पनि सम्बन्धित सरकारी निकायबाट कुनै प्रकारको सहयोग पाएका छैनौँ । यो हाम्रो मुख्य गुनासो हो ।“
संस्कृति संरक्षण, स्थानीय अर्थतन्त्रको प्रवर्धन र सामाजिक मेलमिलापमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको हाट बजारको यो अभ्यास अझ विस्तार र व्यवस्थित बनाउन आवश्यक सहयोगको खाँचो रहेको आयोजकहरू बताउँछन् ।

















