समाचार
लम्कीचुहामा सद्भाव र्याली र दीप प्रज्वलन हुँदैे
प्रशासक | २०८२ भाद्र २८ गते १२:१५ मा प्रकाशित
अक्षर साथी
लम्की/भदौ, २८
लम्कीचुहामा आपसी सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आज साँझ सद्भाव ¥याली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ । शनिबार साँझ ४ बजे मोतिपुरबाट सुरु हुने र्याली बजार परिक्रमा गर्दै लम्की चौराहमा समापन गरिने आयोजकहरूले जनाएका छन् ।
हालैको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र समाजमा फैलिएको त्रास, तनाव र अविश्वास कम गर्दै जनजीवनलाई सामान्यतर्फ लैजान यस कार्यक्रमको आयोजना गरिएको हो ।
व्यापारी पुष्पराज ढकालले भने, ‘व्यापार, शिक्षा र दैनिकी जीवन सबभन्दा पहिले शान्ति र सद्भावमा निर्भर हुन्छ । यसैले हामीले यो कदम चाल्नुपर्ने आवश्यकता देख्यौं ।’
त्यस्तै ‘दिप प्रज्वलन अन्धकार हटाउने प्रतीक हो । यसले समुदायमा आशा, शान्ति र सहिष्णुताको सन्देश दिन्छ । यस्तो बेला सबैले मनको डर हटाएर एकतामा जोडिनुपर्छ ।’ पत्रकार मंगल बास्कोटेले बताए ।
आयोजक समितिका अनुसार सद्भाव र्यालीमा व्यापारी, विद्यार्थी, र नागरिक समाजका सदस्यहरूको समेत सहभागिता रहनेछ । र्यालीपछि दीप प्रज्वलन गरेर मृतकको आत्माको चीरशान्तिको कामना गरिनेछ ।
आयोजकले समाजमा सद्भाव कायम राख्नको लागि हामी सबैको भूमिका महत्वपूर्ण हुने भएकाले सबैको सहभागिताको लागि अनुरोध समेत गरेको छ ।