सुदुरपश्चिम प्रदेश
कैलालीमा दुई पेस्तोल र २८ राउन्ड गोलीसहित चार जना पक्राउ
प्रशासक | २०८२ असोज ८ गते १२:४० मा प्रकाशित
जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले दुई वटा पेस्तोल र २८ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरेको छ ।
मंगलबार गौरीगंगा नगरपालिका–१ चौमालाबाट पक्राउ परेका उनीहरूमा सोही ठाउँका १९ वर्षीय समीर खड्का, १९ वर्षीय आभाष चन्द, गौरीगंगा–३ का २२ वर्षीय जिवेश सापकोटा र हिमाल आचार्य रहेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार पक्राउ परेकाहरूको साथबाट टाईप–५४ र रिभल्भर गरी दुई पेस्तोल तथा २८ राउन्ड गोली बरामद गरिएको हो ।
प्रहरीले जनाएअनुसार पक्राउ परेकाहरूले जेनजी आन्दोलनका क्रममा ट्राफिक महाशाखा बग्गीखानाबाट हतियार लुटेको बयान दिएका छन् । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि अपराध महाशाखा काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।