समाचार
विक्रम कामीको घर निर्माणका लागि इटाको अभाव
प्रशासक | २०८२ कार्तिक २१ गते १०:१३ मा प्रकाशित
अक्षर साथी
लम्की, कार्तिक २०
मृत्युको पखाईमा रहेका लम्कीचुहा–६, बामनपुरका विक्रम कामीको ‘अन्तिम इच्छा’ पूरा गर्न सुरु गरिएको घर निर्माण कार्य इटाको अभावले रोकिएको छ ।
दुईवटै मृगौला फेल भई उपचाररत विक्रमले जीवनको अन्तिम समयमा आफ्नी दुई छोरीका लागि एउटा सुरक्षित छानो होस् भन्ने चाहना व्यक्त गरेका थिए । उक्त इच्छा पूरा गर्न स्थानीय युवाहरू, समाजसेवी तथा विभिन्न संघसंस्थाहरूले घर निर्माण अभियान सुरु गरेका हुन् । तर, अहिले इटाको पर्याप्त आपूर्ति नहुँदा निर्माण कार्यबीचैमा रोकिएको छ ।
घर निर्माणमा खटिएका प्राविधिकका अनुसार विक्रमको लागि निर्माण भइरहेको तीन कोठे सानो घरका लागि करिब ९ हजार इटा आवश्यक पर्ने अनुमान गरिएको थियो । तर हालसम्म १ हजार इटा मात्र सहयोगस्वरूप प्राप्त भएको छ ।
‘हामीले घर निर्माणका भित्ताको काम अघि बढाउन चाहिरहेका छौं, तर इटा अभावले अहिले रोकिएको छ,’ घर निर्माणमा संलग्न स्थानीय समाजसेवी ढक बहादुर बि.क.ले बताए । उनका अनुसार आवश्यक इटा नपाएसम्म निर्माण कार्य अघि बढाउन सकिने अवस्था छैन ।
विक्रम कामीको परिवार अहिले बामनपुरमा साँघुरो बाटोछेउको माटोको झुप्रो घरमा बस्दै आएको छ । यो घर पनि विक्रमको होइन । ८ वर्षअघि खुट्टा काट्नुपरेका विक्रम हाल दुवै मृगौला फेल भएपछि नियमित डायलासिसमा निर्भर छन् । उपचार, दैनिक खर्च र छोरीहरूको पढाइ सबैमा आर्थिक अभाव झेलिरहेका विक्रमको परिवार अहिले स्थानीय सहयोगमै भर पर्न बाध्य छ ।
स्थानीयहरूले अब घर निर्माणका लागि आवश्यक इटा सहयोग गर्न सक्ने सबैलाई अपिल गरेका छन् ।
‘मृत्युको पर्खाइमा रहेका विक्रमको सपना पूरा गर्न सकियो भने त्यो उनका छोरीहरूका लागि जीवनभरको आश्रय हुनेछ,” ढक बहादुर बि.क.ले भने ।