समाचार
लम्कीचुहाका संस्थागत विद्यालयबीच फुटबल प्रतियोगिता हुने
प्रशासक | २०८२ मंसिर २१ गते १०:२७ मा प्रकाशित
कैलाली पोष्ट डेस्क
लम्की, मंसिर २०
कैलालीको लम्कीचुहा नगरपालिकामा संस्थागत विद्यालयहरूबीच फुटबल प्रतियोगिता हुने भएको छ ।
लम्कीस्थित सिटी होटलमा शुक्रबार एक पत्रकार सम्मेलन गर्दै आयोजक विद्यालय लिटिल एन्जेल एकेडेमीले लम्कीचुहाका संस्थागत विद्यालयबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता यही पुस ७ गतेबाट सुरु हुने जानकारी दिएको छ ।
आयोजक लिटिल एन्जेल एकेडेमीका प्रिन्सिपल लोमश ढुङ्गानाका अनुसार लम्कीचुहा–४ को खेलमैदानमा हुने प्रतियोगितामा कक्षा ५ सम्मका र कक्षा ८ सम्मका विद्यार्थी सहभागी हुन पाउने छन् । बिहान ११ बजेबाट सुरु हुने प्रतियोगितामा विद्यार्थीको खेलकौशल वृद्धि गर्नका लागि लिगकम विधिबाट खेल खेलाइने छ।
कक्षा ८ भन्दा माथिका विद्यार्थी विभिन्न प्रतियोगिताका कप खेल्न पाउने भएपनि साना कक्षाका विद्यार्थी खेलकुदका गतिविधिमा सहभागी हुनबाट बञ्चित हुँदै आएको कारण प्रतियोगिता आयोजना गरिएको आयोजक विद्यालय लिटिल एन्जेल एकेडेमीले जानकारी दिएको छ ।
लम्की ग्लोबल एकेडेमीका प्रिन्सिपल बालाराम अधिकारीले यस प्रतियोगिताले साना विद्यार्थीसम्म खेलकुदप्रतिको आकर्षण बढाउने र गतिविधि विस्तार गर्ने विश्वास व्यक्त गरेका छन् ।