खेलकुद
बेलौरी मेयर कपमा ‘हेण्ड’ बल विवादपछि खेलाडी करन पालमाथि सामूहिक कुटपिट
प्रशासक | २०८२ मंसिर २१ गते १३:०४ मा प्रकाशित
बेलौरीमा जारी वडा–स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि सामूहिक कुटपिट भएको छ।
बेलौरी नगर खेलकुद समितिको आयोजनामा मंसिर १५ गतेदेखि खुला मञ्चमा सञ्चालन भइरहेको प्रतियोगितामा वडा नं. १० का खेलाडी करन पाल आक्रमणमा परेका हुन्। वडा नं. १ र १० बीचको सेमिफाइनल खेलका क्रममा ‘हेण्ड’ बलको विषयलाई लिएर विवाद उत्पन्न भएपछि वडा नं. १ का खेलाडीहरूले पालमाथि सामूहिक रूपमा आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए। कुटपिटका कारण पालको टाउको, नाक, आँखा, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खेलाडीमाथि भएको सामूहिक कुटपिटपछि प्रतियोगिता प्रभावित भएको छ। घाइते पालको उपचारका लागि खेलाडीहरू अस्पतालतिर गएपछि आयोजकले केही दिनका लागि खेल स्थगित गरिएको जनाएको छ।