समाचार
कैलाली क्षेत्र नं. २ मा मतगणनाको तयारी, ५२ प्रतिशत मतदान
प्रशासक | २०८२ फाल्गुन २२ गते ०६:३१ मा प्रकाशित
कैलाली डेस्क
लम्की, फागुन २२
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत कैलाली क्षेत्र नं। २ मा कुल मतदाता १ लाख ७ हजार ७ सय ५७ मध्ये ५२ प्रतिशत अर्थात् ५६ हजार ७ सय ७० मत खसेको छ ।
निर्वाचन सम्पन्न भएपछि क्षेत्रका २६ वटै वडाका मतपेटिका बिहान ४ः४५ बजे मतगणना स्थल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, मोतिपुरमा ल्याइएको छ । मतगणना सुरु गर्ने विषयमा निर्णय गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७ बजे सर्वदलीय बैठक बोलाएको जनाएको छ ।
यस क्षेत्रको अघिल्लो प्रतिनिधि सभा निर्वाचन २०७९ मा नागरिक उन्मुक्ति पार्टीका अरुण कुमार चौधरी २१ हजार ८ सय ७१ मतसहित विजयी भएका थिए । त्यतिबेला नेकपा एमालेका झपट बहादुर रावल १६ हजार १ सय २८ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को संयुक्त गठबन्धनका उम्मेदवार भगत बडुवालले १५ हजार १ सय १६ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए ।
यसपटकको निर्वाचनमा २०७९ मा प्रतिस्पर्धा गरेका दलहरूका साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत चुनावी मैदानमा छ ।
बैठकमा मतगणना सुरु गर्ने समय, स्थान व्यवस्थापन तथा सुरक्षासम्बन्धी विषयमा छलफल गरिनेछ ।
मतगणना सुरु भएपछि परिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।