सुदुरपश्चिम प्रदेश
बाजुरामा अढाई महिनादेखि हराएकी युवतीको कंगाल फेला
एजेन्सी | २०७६ श्रावण १९ गते १५:२७ मा प्रकाशित
श्रावण १९,बाजुरा
गत जेठ ६ गतेदेखि हराई रहेकी बाजुराको हिमाली गाउँपालिका वडा नं एककी एक किशोरी अढाई महिना पछि मृत अवस्थामा फेला परेकी छन् । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरको नजिकै कर्णाली किनाराको जंगलमा बासमति भण्डारीको कंगाल फेला परेको हो ।
उनले लगाएका कपडा र जुत्ताबाट आफन्तले पहिचान गरेका प्रहरी चौकी धुलाचौरका प्रहरी सहायक निरीक्षक दिलीप सिहं महराले बताए । स्थानिय एक ब्यक्ति कर्णाली नदीमा माछा मार्न गएर फर्किने बेला जंगलमा युवतीको कंगाल भेटेपछि आफन्तलाई खवर गरेका र प्रहरी टोली घटनास्थल पुगि हेर्दा हराएकी युवतीको कपडा र जुत्ताबाट पहिचान भएको प्रहरीले जनाएको हो ।
भण्डारीको आइतवार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा पोष्टमार्टम गरिएको छ । उनले आत्महत्या गरेको हो वा कसैले मारेर फालेको हो भन्ने कुराको अनुसन्धान हुनुपर्ने आफन्तले बताएका छन् । हिमाली गाउँपालिका वडा नं एक बस्ने बाँचकला भण्डारीकी १६ बर्षीया छोरी बासमति भण्डारी गत जेठमा भएको गाउँपालिका स्तरीय राष्ट्रपछि रनिङ्गशिल्ड प्रतियोगिता खेल्न धुलाचौर आएका बेलादेखि बेपत्ता भएकी थिइन् ।
हिमाली गाउँपालिका वडा नं एकको विच्छ्या माविमा कक्षा नौमा अध्ययनरत भण्डारी सटफूट खेलाडी थिइन् । परिवारले ७ गते प्रहरीलाई उनी हराएको जाहेरी गराएका थिए । गाउँपालिकाको नजिकैको जंगलमा अढाई महिनापछि मात्र उनको शव फेला परेको हो । विद्यालयका शिक्षक र अन्य साथीहरुसहित प्रतियोगिता खेल्न आएकी भण्डारी कसरी हराइन भन्दै परिवारले आशंका समेत ब्यक्त गरेका थिए ।