सुदुरपश्चिम प्रदेश
कैलालीमा २२ करोड भ्रष्टाचार भएको कांग्रेसको दाबी, लम्कीचुहामा कती ?
एजेन्सी | २०७६ पौस १२ गते ०९:४७ मा प्रकाशित
प्रमुख प्रतिपक्षी दल कांग्रेस कैलालीले कैलालीका सातवटा स्थानीय तहमा व्यापक भ्रष्टाचार भएको दाबी गरेको छ । स्थानीय तहमा भएका कामको पार्टीले गरेको अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै कांग्रेसले गत आर्थिक वर्षयता विभिन्न योजनामा करिब २२ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो ।
कैलालीका १३ वटा तहमध्ये कांग्रेसबाट विजयी जनप्रतिनिधि भएका तीनसहित ६ वटा स्थानीय तहमा गरिएको अनुगमनको प्रतिवेदन भने कांग्रेसले सार्वजनिक गरेको छैन । अनियमितता भएको आरोप लगाइएका सातवटै स्थानीय तह नेकपाबाट निर्वाचित जनप्रतिनिधि छन् ।
धनगढीमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दै कांग्रेस कैलालीका सभापति नरनारायण शाह मनुले स्थानीय तहमा भ्रष्टाचार हुने गरेको जनगुनासो बढेकाले अनुगमनका लागि पार्टीले सबै स्थानीय तहमा टोली खटाएको बताए । योजनाका नाममा बजेट छुट्याउने, तर योजना नै निर्माण नगरी बजेट निकासा भएको समेत पाइएको उनले बताए ।
गौरीगंगा, कैलारी, जानकी, चुरे, घोडाघोडी, गोदावरी र भजनी नगरपालिकामा अनियमितता भएको भन्दै कांग्रेसले विवरण सार्वजनिक गरेको हो । कुन–कुन योजनामा कति भ्रष्टाचार भयो भन्ने विवरणसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । कतिपय योजनामा थोरै काम भए पनि पूरै बजेट भुक्तानी भएको पाइएको कांग्रेसको दाबी छ ।
स्थानीय तहका जनप्रतिनिधिले आफ्नो र आफूनिकट, कार्यकर्ताको हितमा राखेर योजना राख्ने, कामै नभई भुक्तानी दिनेलगायतका काम गरेको आरोप प्रतिवेदनमा लगाइएको छ । छोटो समयमा अनुगमन गरेर स्थानीय तह, प्रदेश र संघीय सरकारले नीतिगत र संस्थागत रूपमा गरेका अनियमितता, भ्रष्टाचारको उजागर गर्ने प्रयास गरिएको सभापति शाहले बताए । प्रतिवेदनमा अनियमितता देखिएका योजनाबारे छानबिन गर्न पनि कांग्रेसले अख्तियारलाई आग्रह गरेको छ ।
कांग्रेसले आफ्नो पार्टीले जितेको धनगढी उपमहानगरपालिका, जोशीपुर र बर्दगोरिया गाउँपालिकामा भएका योजनामा आर्थिक अनियमितता र भ्रष्टाचारबारे भने प्रतिवेदनमा कुनै उल्लेख गरेको छैन । जबकि यी तहमा पनि जनगुनासो भने बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनमा पराजित उम्मेदवार, नगर सभापति, क्षेत्रीय समितिका पदाधिकारीलगायतलाई समावेश गरेर कांग्रेसले स्थानीय तहमा छुट्टाछुट्टै अनुगमन टोली खटाएको थियो ।
नयाँ पत्रिका बाट साभार