समाचार
अत्याधिक जाडोका कारण लम्कीचुहाको बादि बस्ती प्रभावित
एजेन्सी | २०७६ पौस १३ गते १७:५९ मा प्रकाशित
पुस÷१३ –केही दिनयता पश्चिमी वायु पुनः सक्रिय भएका कारण कठ्याङ्ग्रिने जाडोमा लम्कीचुहा नगरपालिका वडा नंम्बर ३ का बादि बस्तीका दलितहरु प्रभावित भएका छन् ।
एकसय ४१ घरधुरी रहेको बादि बस्तीका अधिकांश फुसको घरमा गतिलो ओढ्ने ओछ्याउने कपडा अभाव भएकाले अत्यधिक चिसोमा जनजीवन नै कष्टकर भएको ७५ वर्षीय मालती बादि बताउँछन् ।
लोकतन्त्र प्राप्तिपछि देशमा ठूलाठूला परिवर्तन भए पनि लम्कीचुहा ३, बल्चौरका बादिहरुको जीवनमा परिवर्तन आउन नसकेकाले कठ्याङ्ग्रिने जाडो छल्न आगोको सहारा लिनुपर्ने बाध्यता रहेको गोपाल बादि आफ्नो पिडा पोख्छन् ।
जीवनभरी अभाव र पीडाबीच गुज्रिएका बादि समुदाय छानाविहीन छाप्रोमा बस्नु पर्ने बाध्यताका कारण विभिन्न रोगबाट प्रभावित समेत हुने गर्दछन् ।
बर्षायाममा लम्की–चिसापानी सडक खण्डको बल्चौरको उत्तर तर्फ रहेको बादि समुदाय बसोबास रहेको ठाउँबाट रानी जमरा कुलरीया सिचाईँको खोला बग्ने गर्दछ । साउनको अन्तिम साता आएको वर्षाका कारण बाढीले बस्तीका लत्ताकपडा बगाएर लगेको पीडा ताजा नै छ भने अर्को्तिर जाडो र शीतलहरको कहर पनि हामीमाथि नै थपिएकाले हाम्रो जीवन कष्टकर बन्न थालेको दुर्गा बादि बताउँछन् । जाडो बढ्दै गएपछि लम्कीचुहाको दलित बस्तीमात्र नभएर कैलाली सुदूरपश्चिम प्रदेशको जनजीवन समेत कष्टकर बन्दै गएको छ । बढ्दो चिसोले निमोनिया, दम र डायरियाका बिरामी बढ्न थालेको स्वास्थ्य संस्थाको भनाइ छ । जाडो बढ्दै गएकाले शीतलहर र हुस्सुका कारण यातायात क्षेत्र, दैनिक मजदुरी गर्ने मजदुर बालबालिका वृद्धवृद्धा प्रभावित भएका छन् भने चिसोका कारण मानिस घरबाहिर निस्कन सकेका छैनन् । अधिकांश मानिस चिसोबाट बच्न आगोको साहारा लिन थालेका छन्