लम्कीचुहा
लम्कीचुहा वडा नं २ मा सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण
एजेन्सी | २०७९ श्रावण ९ गते १६:५२ मा प्रकाशित
अक्षर सारथी
लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ ले सामाजिक सुरक्षा भत्ता वडामै वितरण गरेको छ ।
वडा कार्यालयले आजदेखि बुधबारसम्म वडा कार्यालयबाट नै भत्ता गर्ने भएको हो ।
बैंकसम्म जानुपर्ने र त्यहाँको अत्यासलाग्दो लामो प्रतिक्षा लाइनमा बस्नुपर्ने वडावासीको बाध्यताको अन्त्यका लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष सन्तोष कुमार ओली बताए । ‘लम्कीमा रहेको मेरो पसल बैंकसंगै रहेको छ । सामाजिक सुरक्षा लिन गएका बृद्धबृद्धाको दुःखलाई मैले नजिकबाट चिनेको छु, महसुस गरेको छु ।,’ वडा अध्यक्ष ओलीले भने, ‘त्यही अत्यास लाग्दो लामो लाइनमा बस्नु पर्ने बाध्यताको अन्त्यका लागि वडा कार्यालयबाटै भत्ता वितरण गरिएको हो ।’
त्यस्तै वडा अध्यक्ष ओलीले भत्ता वितरण कार्यलाई वडावासीका लागि थप सुविधा सहित व्यवस्थित गरि लैजाने बताए । ‘पहिलो पटक भएका कारण अलि भिड देखिएको छ । वडावासीलाई भत्ता सहजरुपमा प्रदान गर्ने हाम्रो योजना रहेको छ । अर्को पटक भत्ता वितरण गर्दा निश्चित टोलका लागि निश्चित दिन तोकेर भत्ता वितरण गर्दा वडावासीहरु सहजरुपमा भत्ता पाउने छन् । पछि थप व्यवस्थित गरेर लैजाने छौं ।’ वडा अध्यक्ष ओलीले भने ।
बैंक गएर चर्किलो घाममा लामो लाइन बस्नु पर्ने साटो वडामै भत्ता पाउँदा खुशी लागेको रामकुमारी नेपालीले बताइन् । ‘यो पटक भत्ता पनि आएको थिएन । कहिले आउने हो आउने होइन अन्यौलता थियो । भत्ता आएपनि लिनको लागि बैंक जानुपर्ने र लामो लाइनमा बस्नु पर्ने दुःख छदै थियो ।,’ रामकुमारीले भनिन्, ‘अहिले घर नजिकको वडा कार्यालयबाट भत्ता पाएपछि खुशी छु ।’
वडा नं २ मा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या छ सय ८८ रहेको छ । छ सय ८८ जनालाई दुई त्रैमासिक भत्ता वापतको एक करोड २४ लाख ५१ हजार नौ सय तीस रुपैयाँ वितरण गरिने एनएमबी बैंक लम्कीका शाखा प्रमुख प्रकाश चन्द्र पन्तले जानकारी दिए ।
वडा कार्यालयले अशक्त तथा हिडडुलमा समस्या भएका लाभग्रहीको सुविधाको लागि अटो रिक्सा समेत गरिदिएको छ ।
लम्कीचुहा नगरपालिकामा सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीको संख्या आठ हजार चार सय ९० रहेको छ । गएको आ.वमा सामाजिक सुरक्षा भत्तामा लम्कीचुहामा २७ करोड ६० लाख ६० हजार पाँच सय ३३ रुपैयाँ खर्च भएको थियो ।