लम्कीचुहा
बजार नपाउँदा बारीमै फूल्यो गोभी
धनराज बि.क अबिरल | २०७५ फाल्गुन १८ गते १०:४४ मा प्रकाशित
लम्की । बजार नपाएपछि लम्कीचुहा नगरपालिका वडा नम्बर २, गणेशपुरका ४२ वर्षीय किसान लौटन चौधरीको गोभी बारीमै तोरी फूले. झै फूलेको छ ।भारतबाट भित्रिएको तरकारी सस्तो मूल्यमा बिक्री हुने गरेकोले स्थानीय तरकारीले बजार पाउन नसकेको किसान लौटनले बताए ।
दुई बिघा जमिनमा व्यावसायिक अर्गानिक बेमौसमी तरकारी खेती गर्दै आएका लौटनले एक बिघामा लगाएको फूलगोभी र बन्दागोभी बिक्री हुननसकेर बारी मै फुलेको छ ।
लौटनले चिसापानी, टीकापुर र मुढा बजारको बीचमा पर्ने नजिकको बजारमा थोकमा पाँच रुपैयामा बिक्री गर्न खोजे पनि बिक्री नभएको बताए । उनले भने– टाढाको बजारमा तरकारी लैजान साधन नभएकोले बारीमै खेर गइरहेको छ । उनले थपे– सडकमा हिड्नेहरुले राम्रो जातको तोरीको बिऊ कहाबाट ल्याएको भनेर प्रश्न गर्छन्, जवाफमा तोरी होईन फुलगोभी हो भनेपछि तरकारी खेती गरेर पनि काम छैन भनेर जान्छन् ।
लम्कीचुहा वडा नम्बर ६ चैनपुरका कृषक रामबहादुर बिक भन्छन्– किसानले तरकारी उत्पादन गरेपछि स्थानीय सरकारले बजारीकरण गर्ने ब्यवस्था र कृषि बीमा तथा हाट बजार संचालन र कोल्ड स्टोरको ब्यवस्था गर्नु आवश्यक छ ।
लौटनले अर्गानिक तरकारी खेतीका लागि गोबर मल, बिउ, बेर्ना र मजदूरी ज्याला सहित तीन लाख रुपैया लगानी भएको बताए । उनले भने– घरघर पुर्याएर बल्लतल्ल ६० हजार रुपैयाको मात्र तरकारी बिक्री भयो । अहिले जँगर मरेको छ । काम गर्ने आट छैन । तरकारीको बेर्ना ठूलो भए पनि रोप्ने जागर जागेको छैन ।
व्यवसायिक तरकारी खेतीमा रुची भएका लौटनले २०७० सालबाट जमिनमा नरेश आर्गनिक कृषि तथा लक्की नर्सरी सेन्टर दर्ता गरी बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।