समाचार
अत्यधिक गर्मीले लम्कीचुहाको जनजीवन अस्तव्यस्त
प्रशासक | २०८२ श्रावण ९ गते १५:१७ मा प्रकाशित
अक्षर साथी
लम्की/साउन ८
कैलालीको लम्कीचुहा नगरपालिकामा पछिल्ला दिनमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित भएको छ । लगातारको टन्टलापुर घाम र उच्च तापक्रम कारण दैनिक जीवन कष्टकर बन्दै गएको स्थानीयवासी बताउँछन् । बिहानैदेखि सूर्यको तेज बढ्न थालेपछि बाहिरी कामकाज गर्ने दैनिकी मजदुर, किसान, विद्यार्थी, वृद्ध तथा बालबालिकालाई विशेष असर परेको छ ।
लम्कीचुहा–५ का ३३ वर्षीय रामकृष्ण चौधरी लम्की बजारमा घर बनाउने काममा लागिरहेका छन् । उनी भन्छन्, ‘गर्मी यस्तो छ कि सहनै गाह्रो भयो। बिहान ८ बजेदेखि नै घाम तात्न थाल्छ । काम गर्नै नसकिने हुन्छ । घामले पोल्छ, शरीर थाक्छ, वाकवाकी र चक्करसमेत आउँछ ।’
गर्मीका कारण कृषि कार्यमा समेत असर देखिएको छ । खेतमा पानी हाल्ने, बालीको स्याहार गर्ने काम रोकिएको छ । खेतमै पसिना चुहाउँदै काम गरिरहेका किसानहरू छाताबिना बस्न सक्दैनन् ।
विद्यालयहरूमा पनि गर्मीका कारण पठनपाठन प्रभावित भइरहेको छ । लगातारको गर्मीका कारण कतिपय विद्यालयहरूले दिउँसोका कक्षा हटाएर बिहानै कक्षा सञ्चालन गर्ने गरेका छन् । बालबालिकामा लू लाग्ने, शरीर पोल्ने, थकाइ लाग्ने, टाउको दुख्ने जस्ता समस्या देखिएको एक शिक्षिकाले बताइन् ।
स्वास्थ्य संस्थाहरूमा गर्मीसम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्दै गएको छ । लम्कीचुहा अस्पतालका गंगाराम उपाध्यायका अनुसार पछिल्लो एक साता यता डिहाइड्रेसन, वाकवाकी, टाउको दुखाइ, चक्कर लाग्ने जस्ता लक्षण भएका बिरामी बढेका छन् । ‘खासगरी वृद्धवृद्धा र बालबालिकालाई गर्मीको असर धेरै देखिएको छ,’ उनले भने ।
नगरपालिका स्तरबाट पनि गर्मीको जोखिमलाई ध्यानमा राख्दै जनचेतनामूलक सन्देश प्रवाह गरिँदै आएको जनाइएको छ । नगर प्रवक्ता लव बहादुर शाहीका अनुसार नगरबासीलाई भरपूर पानी पिउन, घर बाहिर ननिस्कन, छायाँमा बस्न र आवश्यकता भएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
गर्मीका कारण विद्युत आपूर्ति पनि प्रभावित हुने गरेको छ । लगातारको लोडका बढेका कारण समय समय विद्युत अवरुद्ध हुने गरेको छ । पंखा, एसी र फ्रिजको अत्यधिक प्रयोगमा रहेकाले विद्युत लोड बढेको जनाइएको छ ।
यस्तो अवस्थामा स्वास्थ्य सतर्कता अपनाउनु, आवश्यकता बाहेक घर बाहिर ननिस्कनु, झोलिला खाना र प्रशस्त पानी सेवन गर्नु नै सुरक्षित उपाय भएको विज्ञहरूको सुझाव छ ।
गर्मी अझै केही दिन कायम रहने मौसम पूर्वानुमान शाखाको तथ्याङ्कले देखाउँछ । यस्तो अवस्थामा सबैको सतर्कता अत्यावश्यक देखिएको छ ।