समाचार
लम्कीचुहामा जातीय विभेद अन्त्यका लागि गरियो प्रतिबद्धता
प्रशासक | २०८२ श्रावण २० गते १७:२८ मा प्रकाशित
अक्षर साथी
लम्की/साउन, १९
कैलालीको लम्कीचुहा नगरपालिकामा जातीय विभेदको अन्त्यका लागि प्रतिबद्धता व्यक्त गरिएको छ ।
सोमवार लम्कीचुहा नगरपालिकाको हलमा भएको एक कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, दलित अगुवा लगायतले जातीय विभेदको अन्त्यका लागि प्रतिबद्धता जनाएका हुन् ।
महिला जागरण केन्द्र, नेपालको आयोजनामा र टेवा अनुदान, नेपालको सहयोगमा जातीय छुवाछूत विरुद्धको कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरूसँग नगरस्तरीय अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, दलित अगुवाले छुवाछूत अन्त्य गर्न आफूहरू प्रतिबद्ध रहेको र आफूले गर्न सकिने सहयोग गर्न तयार रहेको बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले आफूमा क्षमताको विकास गर्नुपर्ने बताइन्। ‘तालीम गोष्ठी मात्र गरेर विभेदको अन्त्य हुँदैन । त्यसका लागि आफूमा भएको क्षमताको अभिवृद्धि गर्नु पर्छ,’ नगरप्रमुख शाहीले भनिन्, ‘विभेद हरेक जातमा रहेको छ। दलितमा मात्रै विभेद छैन, हरेक जातमा छ। यसलाई न्यूनिकरण गर्नको लागि आफूमा भएको क्षमतालाई वृद्धि गर्ने, शिक्षित हुने र सम्पन्न बन्नु पर्छ ।’
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय दलित आयोगकी पूर्व सदस्य रमा बादीले आफू दलित आयोगमा रहँदा धेरै अनुभव रहेको बताउँदै, कानुन मात्रैले नपुग्ने, त्यसका लागि उचित बजेट र कानुन कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट नगर सभापति इन्द्रबहादुर कुँवर, नेकपा (एमाले)का तर्फबाट नगर अध्यक्ष शेरबहादुर बिष्ट र नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष कमल भुलले आ–आफ्नो धारणा राखेका थिए ।
धारणा राख्दै राजनीतिक दलका प्रतिनिधिहरूले संविधानमार्फत धेरै अधिकार प्राप्त भइसकेको हुँदा अधिकारलाई संस्थागत गर्दै कानुनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
२०७२ सालमा स्थापना भएको महिला जागरण केन्द्र, नेपालले नेतृत्व विकास, जनचेतनामूलक कार्यक्रम, क्षमता अभिवृद्धिका कार्यक्रम, मानव अधिकारको वकालतसँगै आयआर्जनका तालीमहरू प्रदान गर्दै आएको कार्यक्रमकी सभाध्यक्ष सपना वि.सी.ले जानकारी दिइन् ।
सहभागीलाई प्रशिक्षक प्रेम वि.क.ले जातीय छुवाछूतसम्बन्धी जानकारीमूलक सामग्री प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन गोपाल वि.क.ले गरेका थिए ।