किशोर अवस्थामै लागुऔषधको दलदलमा फस्ने जोखिम बढीः प्रहरी निरीक्षक रोकाय
प्रशासक | २०८२ पौस १२ गते ०६:३२ मा प्रकाशित
अक्षर साथी
लम्की, पुस १२
कैलालीमा लागुऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको भन्दै यसको सुरुआत प्रायः किशोर अवस्थामै हुने गरेको प्रहरी निरीक्षक कविराज रोकायले बताएका छन् । कैलाली पोष्ट दैनिकको लागुऔषध दुव्र्यसन विरुद्धको ‘नयाँ पाइला – नशा होइन, भविष्य रोजौं’ विशेष शृङ्खलाअन्तर्गत गरिएको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।
उनका अनुसार लागुऔषधमा दलदलको यसरी हुन्छ सुरुवात :
जिज्ञासाबाट सुरु हुने पहिलो पाइलाः
किशोर अवस्था जिज्ञासाले भरिएको उमेर हो । नयाँ कुरा जान्ने, प्रयोग गर्ने र साथीको नजरमा ‘कूल’ देखिने चाहनाले किशोरहरू सजिलै प्रभावित हुन्छन् । ‘धेरैजसो केसमा सुरुमा धूम्रपानबाट थालिन्छ,’ प्रहरी निरीक्षक रोकाय भन्छन्, ‘त्यसपछि क्रमशः गाँजाको सेवन हुँदै कडा लागुऔषधतर्फ जाने बाटो खुल्छ ।’
साथीको दबाब र गलत संगतः
रोकायका अनुसार लागुऔषध प्रयोगको सबैभन्दा ठूलो कारण साथीको प्रभाव हो । किशोरले ‘नाई’ भन्न नसक्नु, समूहबाट अलग नपर्न खोज्नु र आफू कमजोर नदेखिन चाहनु नै गलत निर्णयको कारण बन्छ । साथीले दिएको चिज अस्वीकार गर्न नसक्दा धेरै किशोर पहिलो पटक प्रयोग गर्ने प्रहरी निरीक्षक कविराजको अनुभव छ ।
पारिवारिक निगरानीको कमीः
परिवारले समय नदिनु, एकआपसमा कुराकानीको अभाव र अत्यधिक स्वतन्त्रता पनि किशोरलाई जोखिममा पार्ने कारक हुन् । अभिभावक व्यस्त हुँदा वा बच्चाको गतिविधि र संगतप्रति चासो नदिँदा समस्या चुपचाप बढ्दै जान्छ । ‘बच्चाको व्यवहार अचानक बदलिनु, एक्लै बस्न खोज्नु, झर्को देखाउनु सुरुआती संकेत हुन सक्छ,’ रोकायले सुझाव दिदै त्यसतर्फ सचेत हुन अभिभावकलाई सचेत गराए ।
ADVERTISE
.............................................................................................................................................................................
विद्यालय र समाजको भूमिका कमजोरः
विद्यालय छोड्नु, असफलता वा दवाबले पनि किशोरलाई निराश बनाएको हुन्छ । यस्तो अवस्थामा किशोर गलत बाटो सजिलो विकल्पको रुपमा देख्न थाल्छन् । प्रहरी निरीक्षक रोकायका अनुसार विद्यालय, शिक्षक र समुदायले समयमै चासो देखाउन नसक्दा समस्या गहिरिन्छ । ‘यो गलत बाटोमा छ’ भन्ने थाहा हुँदाहुँदै पनि सम्झाउने, बुझाउने भन्दा पनि ‘प्रहरी आफैले आएर लगोस्’ भन्ने समाजको चेतनामा कमी आउनु पर्ने प्रहरी निरीक्षक रोकायको अनुरोध छ ।
‘एक पटक मात्र’ भन्ने भ्रमः
किशोरहरू प्रायः ‘एक पटक मात्र हो’ भन्ने सोचमा प्रयोग सुरु गर्छन् । तर यही ‘एक पटक’ बिस्तारै बानी र पछि लतमा परिणत हुन्छ ।
प्रहरी निरीक्षक रोकायका अनुसार सुरुआती चरणमै पहिचान र हस्तक्षेप भएमा किशोरलाई लागुऔषधबाट जोगाउन सकिन्छ । उनका अनुसार परिवारको संवाद, विद्यालयको निगरानी र समुदायको सहकार्य नै प्रभावकारी उपाय हुन् ।
प्रहरी निरीक्षक रोकायले लागुऔषध समस्यालाई केवल अपराध र दण्डको विषयका रूपमा हेर्दा समाधान ननिस्कने स्पष्ट पारे । ‘प्रयोगकर्ता र कारोबारी फरक हुन् । कारोबारीमाथि कडाइ गर्नुपर्छ, तर प्रयोगकर्तालाई उपचार, परामर्श र पुनःस्थापनातर्फ लैजानु आवश्यक छ,’ उनले भने ।
उनले इलाका प्रहरी कार्यालय, मोतिपुर लम्की अहिले समुदायसँग सहकार्य गर्दै सचेतनामूलक गतिविधिमा जोड दिइरहेको बताए ।
अन्त्यमा उनले युवाहरूलाई लागुऔषधबाट टाढा रहन अपिल गर्दै भने, “नशा क्षणिक सुख हो यसले भविष्य बर्बाद गर्छ ।’
कैलाली पोष्ट दैनिकले ‘नयाँ पाइला – नशा होइन, भविष्य रोजौं’ विशेष शृङ्खलामार्फत लागुऔषध दुव्र्यसनलाई दण्डको विषय होइन, समाधानको विषयका रूपमा स्थापित गर्न सरोकारवाला निकाय, प्रयोगकर्ता र समुदायबीच संवादको साझा मञ्च निर्माण गर्ने उद्देश्य लिएको छ ।
















