महिला घरेलु हिंसा सम्बन्धी कार्यक्रमका सहभागीले जातीय छुवाछुतको विभेद सहनुपरेको पीडा सनाए
कैलाली पोष्ट | २०७६ पौस ७ गते १४:१४ मा प्रकाशित
दलित उत्पीडित सेवा समाजको आयोजना तथा लम्कीचुहा नगरपालिका वडा नम्बर १० को सहयोगमा महिला घरेलु हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सनिबार चुहामा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रमका सहभागीले महिला घरेलु हिंसा संगै जातीय छुवाछुतको विभेद सहनुपरेको पीडा सनाएकाछन् ।
कायक्रमका सहभागी महिलाहरुले चरम घरेलुहिंसा भोग्दै आएको बताएका थिए । लम्कीचुहा नगरपालिका वडा नम्बर १० सुतैयाकी सितला परिवारले आफूले धेरै घरेलु हिंसा सहेर बस्नु परेको बताईन् । पहिलो पटक कार्यक्रममा आएको बताउँदै अब घरेलु हिंसाका विरुद्ध न्याय खोज्न सक्ने गरी अधिकारको बारेमा थाहा पाएको उनी बताउछन् । सामाजिक अगुवा राधा परियारले अधिकारको खोजी गर्दा सामाजिक चुनौती भोग्नु परेको अनुभव सुनाएकी थिईन ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १० सुतैयामा दलितको बाहुल्यता रहेको र गैरदलितले डुमको बस्ती, ढोलीको बस्ती भनेर उपमानका शब्द बोल्दा धेरै मन दुख्ने गरेको कार्यक्रममा गुनासो राखेका थिए । सुतैयामा जातीय विभेद र मानव अधिकार सम्बन्धीको कार्यक्रम आयोजना गर्न स्थानीय सरकार र संघसंस्था लाई सहभागीले अनुरोध समेत गरेकाछन् ।
कार्यवाहक अध्यक्ष बिस्ना बिसी सपनाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एवम् लम्कीचुहा नगरपालिका वडा नम्बर १० वडा अध्यक्ष हर्क बहादुर कठरियाले महिला घरेलु हिंसा न्यूनीकरणका लागि महिला जागरुप हुनुपर्ने बताए । महिला घरेलु हिंसाका विरुद्ध घरघरबाट महिलाहरुले बिरोध नगर्दा सम्म घरेलु हिंसाको न्यूनीकरण हुन नसक्ने उनले बताए । कानुनमा सबै समान भएपनि समाजमा विभेद हुने गरेको पाईन्छ । जस्ले विभेद गछर्, घरेलु हिंसा गर्छ तिनीहरुलाई कानूनी सजाय नगरे सम्म समाज सचेत नहुने कठरियाले बताए ।
त्यसैगरी वडा सदस्य रेणुमुल भण्डारीले महिलारुले घरेलु हिंसा सहेर बस्न नहुने बताईन् । महिला सचेतनाको लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिईन । वडा सदस्य लक्ष्मण प्रसाद चौधरीले सबैले परिवर्तन हुनपर्ने बताए । वडा सदस्य हिमा परियारले वडा सदस्य भएर पनि समाजमा अपमानजनक शब्द सुन्नु परेको पीडा सुनाइन् ।
दलित उत्पीडित सेवा समाजका संस्थापक अध्यक्ष गोपाल सिंह बिकले अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउनु पर्ने बताए । गलत सहेर कसैले पनि बस्नु हुँदैन । हाम्रो संस्था साथमा छ अधिकारकोे खोजी गर्नुपर्ने बेलामा चुप लागेर बस्न नहुने उनले बताए । संस्थाकी सीता बिकले स्वागत मन्तव्य राखेकी थिईन भने बल बहादुर बिकले अतिथिलाई फूलमालाले सम्मान गरेका थिए ।
लामो समय देखि मानव अधिकारको क्षेत्रमा कार्यरत प्रशिक्षक धनराज बिकले मानव अधिकार, महिला अधिकार र घरेलु हिंसाको बारेमा जानकारी दिएका थिए । कार्यक्रमका सहभागी महिलाहरुले घरेलु हिंसा, जातीय छुवाछुत र अपमानजनक शब्द र व्यवहार सहनुपरेको भन्दै गुनासो राखेकाले लम्कीचुहा नगरपालिका वडा नम्बर १० सुतैयामा जनचेतना मूलक कार्यक्रम संचालन गर्न जरुरी भएको मानव अधिकारकर्मी बिकले कैलाली पोष्टलाई बताए ।