लम्कीचुहा
मेयर बजगाईको प्रतिवद्धता पूरा हुँदै : ऐलानीको जग्गा नापको काम सुरु
कैलाली पोष्ट | २०७८ फाल्गुन २६ गते १२:३६ मा प्रकाशित
लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको मुख्य चुनावी प्रतिवद्धता पूरा हुने भएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार रहँदा आफू निर्वाचित भएमा ऐलानी जग्गामा भएकालाई जग्गा धनी पूर्जा दिने प्रतिवद्धता गरेका थिए । राष्ट्रिय भूमि आयोगको लम्कीचुहा स्थित पालिका सेवा केन्द्रले जग्गा नापको सूचना निकालेपछि प्रतिवद्धता पूरा हुने भएको हो ।
‘आफ्नो कार्यकालमा थुप्रै काम गरेको छु । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएका छौं । भूमिहीनहरूलाई लालपूर्जा दिन सकिदैन की भन्ने चिन्ता थियो, त्यो चिन्ता हटेको छ ।’ मेयर बजगाईले भने, ‘अब वडा नं २, ४र वडा नं ५ बाट जग्गा नाप नक्साको काम हुनेछ र निस्सा वितरण हुने छ । ऐलानी जग्गामा बस्नेहरूले जग्गा धनी पुर्जा पाउने छन् ।’
सेवा केन्द्रका संयोजक बिरेन्द्र शाहीले पहिलो चरणमा तीन वडामा जग्गा नापको काम सुरु हुने बताए । तीन वडामा नापको काम सम्पन्न गर्न दुई महिनाको समय लाग्ने संयोजक शाहीले जानकारी दिए ।
लम्कीचुहा नगरपालिकामा भूमिहीन दलित, भूमिहीन र अव्यवस्थितहरुका १६ हजार घरधुरीले फारम भरेका छन् ।