खेलकुद
नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित
प्रशासक | २०८२ असोज २३ गते ११:४३ मा प्रकाशित
ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।
बुधबार राति सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल बनायो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए भने गुल्शन झाले ६ बलमा २० रनको छोटो तर प्रभावशाली पारी खेले। उनले १९औँ ओभरका अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए।
कुवेतका बलरहरूमध्ये अनुदीप चेन्थामाराले ४ ओभरमा २२ रन दिएर २ विकेट, र नवीन राजले ४ ओभरमा ४० रन खर्चिएर २ विकेट लिए। त्यस्तै, मोहम्मद असलम र अकिफ फारुकले १–१ विकेट हात पारे।